धरान : भानु जयन्ती मनाउन धरान–१३ लोटस स्कुलले विद्यार्थीलाई भारतको नागाल्याण्ड लैजाने भएको छ । त्यहाँको मोकोकचुङमा हुने २१२औँ भानु जयन्तीमा उनीहरूले नेपाली कला,संस्कृति र नृत्य प्रस्तुत गर्नेछन् ।
स्कुलका कोअर्डिनेटर आगनसाङ रार्यले बिहीबार पत्रकार सम्मेलनमा ८ जना विद्यार्थीले नेपाली कला, सांस्कृतिक भेषभूषा तथा परम्परा झल्किने ५ वटा नृत्य प्रस्तुत गर्ने बताए ।
सहभागी विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसँगै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्ने अवसर भएका उनको भनाई छ । विद्यार्थी टोली असार २७ गते नागाल्याण्ड प्रस्थान गर्ने स्कुलले जनाएको छ।
प्रबन्ध निर्देशक गणेश राईले आफू नागाल्याण्डमै जन्मिएर हुर्किएको बताए । त्यहाँ तामाङ सेलो र झ्याउरे गीत मात्र सुनेको उनले नेपालमा साकेला, कौडा जातीय संस्कृति बारे जानकारी पाएको बताए ।
प्रिन्सिपल सन्जिता राईले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा संस्कृति प्रस्तुत गर्ने अवसर प्राप्त भएको बताइन् ।