इटहरी : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिका कार्यालय र मेयर हेमकर्ण पौडेलको घर जलेर नष्ट भयो । पछिल्लो समय प्राप्त भिडियो र फोटोमा आगलागीमा संलग्नको सहजै पहिचान भए पनि कारबाही भएको छैन ।

सामाजिक सञ्जालमा सक्रिय मेयर पौडेलले बारम्बार आन्दोलनको क्रममा जलेको घरको भिडियो फुटेज सार्वजनिक गर्ने गरेका छन् । भिडियो र फोटो बाहेक पनि आफ्नो घर जलेको विषयलाई भावनात्मक रूपमा अभिव्यक्ति दिन्छन् पौडेल । नेपाली काँग्रेस उपमहानगर सभापति समेत रहेका पौडेलको घर जलेको विषयमा कुनै पनि दलहरूले आधिकारिक धारणा भने दिएनन् ।

मङ्गलवार मात्र इटहरी उपमहानगरपालिका कार्यालय कसरी जल्यो भन्ने विषयमा कालो दिन भन्दै पोस्ट गरेका छन् । सानो भिडियो फुटेजमा जलाउन उकास्ने र जलाउनेहरूको पहिचान गर्न सकिन्छ । उनको घर आगजनीमा संलग्नलाई समेत सहजै पहिचान गर्न सकिने अवस्था देखिन्छ ।

सो विषयमा प्रहरीले उपमहानगरपालिका कार्यालय र स्वयम् मेयर पौडेललाई जाहेरी दिन आग्रह गरेको थियो । लिखित आग्रह गरेको प्रहरीले अझैसम्म जाहेरी पाउन सकेको छैन । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले लिखित आग्रह गरेको तर सम्बन्धित निकायबाट उजुरी नपरेको खुलाएका छन् । उनका अनुसार इटहरी स्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय आगजनीमा संलग्न केहीलाई प्रहरी पक्राउ गरिसकेको छ ।

जेनजी आन्दोलन सम्बन्धमा गठित छानबिन आयोगले इटहरी उपमहानगरपालिकामा २५ करोड क्षति भएको रिपोर्ट बुझायो । मेयर पौडेलको घरमा भएको क्षतिलाई उपमहानगरपालिकाले बेहोर्ने तयारी गरेको थियो । कार्यपालिकामा यस विषयमा आवाज उठेपनि मेयर पौडेलले पालिकाबाट क्षतिपूर्ति नलिने अडान लिए ।

Hemkarna house