धरान : उद्घाटन गरिए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको धरान-८ स्थित नयाँ बसपार्क धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि कडारुपमा नियम कार्यान्वयन गरी सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवाला समेतको सहभागितामा आज बिहीबार भएको सुरक्षा समन्वय बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी अनिवार्य रूपमा नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले बसपार्क पूर्ण रूपमा सञ्चालन गर्न सुरक्षा निकाय परिचालन गरी नियम पालना गराउने र नियम उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको हो।
कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बसपार्क कार्यान्वयन अब कुनै पनि अवस्थामा नरोकिने बताउँदै प्राविधिक समस्या आए तत्काल समाधान गरिने बताए।
उनले भने "ट्याम्पो, सफारी सहित सबै सार्वजनिक सवारीले तोकिएको भाडा दर, रुट र सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नु पर्नेछ ।"
बैठकले नयाँ बसपार्क सञ्चालनका लागि विस्तृत कार्य योजना पनि स्वीकृत गरेको छ। योजना अनुसार भानु चोक पुरानो बसपार्कबाट लामो तथा मध्यम दूरीका सबै सार्वजनिक सवारी नयाँ बसपार्कमा स्थानान्तरण गरिनेछ।
उत्तरबाट आउने सवारीलाई लक्ष्मी चोक, शिक्षा सदन, भानु चोक र बुढासुब्बा चोक हुँदै यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाइनेछ भने बसपार्क प्रवेश र बाहिरिने मार्गलाई दुईतर्फी सञ्चालनयोग्य बनाइनेछ। स्थानीय सार्वजनिक यातायात पूर्ण रूपमा नियमित नहुँदासम्म यात्रुको सुविधाका लागि विशेष शटल बस सञ्चालन गर्ने तयारी गरिएको छ।
भानु चोक तथा अन्य स्थानमा रहेका सबै टिकट बुकिङ काउन्टर बन्द गरी टिकट बिक्री नयाँ बसपार्कभित्रबाट मात्रै गरिनेछ। प्रत्येक काउन्टरमा भाडा दर अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्नेछ भने बढी भाडा असुले तत्काल कारबाही गरिनेछ।
धरान–पानबारी, चतरा लाइन र मङ्गलवारे स्ट्यान्डबाहेक अन्य स्थानबाट यात्रु चढाउन वा ओराल्न नपाइने व्यवस्था लागू हुनेछ।।
यातायात संस्था वा कम्पनीमा आबद्ध ई–रिक्सा र ट्याम्पोका लागि बसपार्कको बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ। बसपार्क क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरी २४सै घण्टा परिचालन हुनेछन् भने सुरक्षा सुदृढ बनाउन सिसिटिभी निगरानी प्रणाली र यात्रुको गुनासो तथा सूचनाका लागि हेल्प डेस्क सञ्चालन गरिनेछ।
बसपार्कमा कार्यरत कर्मचारी, चालक र सहचालकले अनिवार्य रूपमा परिचयपत्र र पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
यात्रुसँग अभद्र व्यवहार गर्ने, झोला तानातान गर्ने वा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम असुल्ने व्यक्ति वा संस्थामाथि तत्काल कानुनी कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नयाँ बसपार्कको संरचना आधुनिक र सुविधा सम्पन्न रहेकोले यसको प्रभावकारी कार्यान्वयनमा प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए। बसपार्क कुनै हालतमा सर्छ। यो सुविधा सम्पन्न छ, कुनै एयरपोर्टभन्दा कम छैन,ू उनले भने।
उनले साउन १ गतेदेखि नयाँ बसपार्कबाटै लामो दूरीका सार्वजनिक सवारी सञ्चालन अनिवार्य हुने र नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारे। सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी निगरानी, छुट्टै मोनिटरिङ रुम, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरीको आवश्यक परिचालन गरिने उनले जानकारी दिए।
घिमिरेले भविष्यमा सवारीको चाप बढे पार्किङ क्षेत्र विस्तारका लागि आवश्यक परे नगरपालिका र रेडियो नेपालको जग्गा उपयोग गर्ने वा ल्यान्ड पुलिङमार्फत क्षेत्र विस्तार गर्न सकिने विकल्पसमेत रहेको बताए। उनका अनुसार भानु चोक, तीनकुने लगायत स्थानमा मोबाइल चेकिङ टोली परिचालन गरी नयाँ बसपार्कमा प्रवेश नगर्ने लामो दूरीका सवारीमाथि तत्काल कारबाही गरिनेछ।
यसैबिच यातायात व्यवसायी सरोज श्रेष्ठले नयाँ बसपार्कलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन थप सुधार आवश्यक रहेको बताए। उनले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नियमित सुरक्षा समन्वय बैठक, बसपार्क बाहिर सुरक्षा तथा ट्राफिक पोस्ट,भानु चोकदेखि नयाँ बसपार्कसम्म शटल बस सञ्चालन, पर्याप्त पार्किङ व्यवस्थापन तथा परिचयपत्रबिनाका मजदुरलाई काम गर्न नदिने व्यवस्था लागू गर्न सुझाव दिए।
सुरक्षा समन्वय बैठकमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबे,सशस्त्र प्रहरी बलका प्रतिनिधि,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख विमल घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा अन्य सुरक्षा अधिकारी, यातायात व्यवसायी र उपमहानगरपालिकाका पदाधिकारीको उपस्थिति थियो।