धरान : धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले स्थानीय मिडियालाई उत्तरदायी र जिम्मेवार बनाउन स्थानीय सञ्चार ऐन निर्माण जरुरी भएको बताएका छन् ।
 उनले भने ‘पत्रकार जिम्मेवार स्थायी प्रतिपक्ष भएकाले सत्तापक्षको एकोहोरो पक्षधर कहिल्यै हुनु हुँदैन ।’ स्थानीय मिडिया, पत्रकार स्थानीय सत्ताको पक्षधर भइदिएमा स्थानीय सरकारले गरेका कार्य, नीति निर्माणको खराब पक्षको आलोचना नहुने र सच्याउने अवसर नमिल्ने उनले बताए ।
नेपाल पत्रकार महासङ्घ सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा पत्रकारहरूको वृत्ति विकासको लागि सञ्चालित आर्थिक वर्ष २०८३/०८४ को लेखनवृत्ति कार्यक्रमको शुक्रवार सम्पन्न समापनमा उनले उक्त कुरा बताएका हुन । 
स्थानीय सरकारले वर्ष भरी गरेको कार्य र नीति निर्णयको मिडिया समीक्षाको रूपमा लेखनवृत्ति सञ्चालन हुँदै आएको छ । प्रेस स्वतन्त्रताको रक्षा र स्थानीय प्रेसलाई उत्तरदायी बनाउन लेखन वृत्तिले पत्रकारको वृत्ति विकासमा सहयोग पु¥याउँदै आएको छ ।
स्थानीय पत्रकारिता, मिडिया सञ्चालनसँग सहकार्य गर्दै स्थानीय सवालहरूप्रति उत्तरदायी बनाउन स्थानीय सरकारको आफ्नै सञ्चार ऐन चाहिने रहेछ भन्ने उपमहानगरपालिकाले अनुभव गरेको उनले बताए । बेघाले भने ‘हामी स्थानीय सञ्चार ऐन बनाउने तयारीमा लागेका छौँ ।’
कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले सरकारलाई सही मार्गमा अघि बढाउन रचनात्मक आलोचना, खबरदारी र तथ्यमा आधारित सुझाव आवश्यक हुन्छ। सकारात्मक कामको प्रचार गर्नु जत्तिकै कमीकमजोरी उजागर गर्नु पनि पत्रकारिताको दायित्व भएको बताए । 
धरानमा ७ हजार सडक
बेघाले धरानको पूर्वाधार विकासबारेमा भने ‘उपमहानगरभित्र करिब ५ देखि ७ हजार साना–ठुला सडकहरू रहेका छन् ।’ सीमित स्रोत–साधनका कारण सबै सडक एकै पटक निर्माण गर्न सम्भव छैन । ती सडकहरूलाई प्राथमिकताका आधारमा योजनाबद्ध रूपमा विकास गरिने उनले बताए ।
उनले भने ‘कुन सडकलाई पहिले प्राथमिकता दिने भन्ने विषयमा पत्रकार, नागरिक समाज तथा सरोकारवालाले तथ्यमा आधारित सुझाव दिए विकासलाई प्रभावकारी बनाउन सहयोग पुग्छ ।’ तर हचुवाका भरमा योजना छनोट गर्नुको सट्टा आवश्यकता,जनघनत्व,उपयोगिता र दीर्घकालीन प्रभावमा आधारित हुनुपर्ने बताए । 
स्थानीय कानुन निर्माणलाई प्राथमिकता :
कार्यवाहक प्रमुख बेघाले स्थानीय शासनलाई प्रभावकारी बनाउन सङ्घीय तथा प्रदेश कानुनसँग नबाझिने गरी स्थानीय आवश्यकता अनुरूप ऐन तथा नीति निर्माणलाई कार्यपालिकाले प्राथमिकता दिएको बताए । 
उनले भने ‘स्थानीय कानुन निर्माण गरी लागु गरिए नियम विपरीत हुने खर्च, बेरुजु तथा राजनीतिक–प्रशासकीय जटिलता न्यूनीकरण गर्न समेत सहयोग पुग्नेछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले धरानमा निर्माणाधीन पत्रकार महासङ्घको भवन अझै अपूर्ण रहेकाले त्यसलाई शीघ्र पूर्णता दिन उपमहानगरपालिकासँग आग्रह गरे।
उनले स्थानीय सञ्चार ऐन निर्माण, सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था तथा प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने माग गरे।
लेखनवृत्ति कार्यक्रममा सहभागी धरानका ९ जना पत्रकारमा ६ जना महिला थिए । कार्यक्रममा हर्ष सुब्बा, जनकऋषि राई,देवेन्द्र कार्कीले सहजीकरण गरेका थिए।