धरान : बिपी प्रतिष्ठान आसपासमा रहेका ८ वटा औषधि पसल आज बिहीबार सिलबन्दी गरिएको छ।
प्रतिष्ठान हाताबाट प्रहरीले विचोैलीयाको आरोपमा १० जनालाई पक्राउ गरेको विरोधमा ओषधि व्यवसायीहरू आन्दोलनमा उत्रिए पछि प्रशासनले पसलहरूको अनुगमन गरेको हो ।
ओषधि पसलहरू अनुगमन गर्दा कानुनी कमजोरी भेटिएपछि ती पसल सिलबन्दी गरिएको जिल्ला फार्मेसी अधिकृत प्रकाश भण्डारीले बताए । उनको संयोजकत्वमा अनुगमन गरिएको हो ।
अनुगमन गर्दा केही पसलमा सञ्चालक उपस्थित नभएको,औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, कानुन विपरीतका औषधि फेला परेको तथा पसल सञ्चालनका लागि आवश्यक कागजात नपाइएको अनुगमन टोलीले जनाएको छ।
सिलबन्दी गरिएका पसल सञ्चालकलाई आवश्यक प्रक्रिया पूरा गर्न औषधि व्यवस्था विभाग,विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
सिलबन्दी गरिएका पसलमा सायांश मेडिकल हल सञ्चालक,चाँदनी फार्मेसी ,सबिन मेडिकल हल,वर्षा मेडिकल,स्काट मेडिकल हल, रितिशा फार्मेसी,सुजिता फार्मेसी र मिरियन मेडिकल हल रहेका छन्।
अनुगमन टोलीले औषधि व्यवसाय प्रचलित कानुन, मापदण्ड तथा औषधि व्यवस्था सम्बन्धी नियमअनुसार सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ।
सिलबन्दी गरिएका पसलमा सायांश मेडिकल हल सञ्चालक सरोज लुइँटेल,चाँदनी फार्मेसीका राम नारायण चौधरी,सबिन मेडिकल हल रबिन यादव,वर्षा मेडिकल सचिन्द्र कुमार यादव,स्काट मेडिकल हलका भरुमत रासिद अली,रितिशा फार्मेसीका विकास कुमार यादव,सुजिता फार्मेसीका शरद किशोर यादव र मिरियन मेडिकल हलका घनश्याम श्रेष्ठलाई सम्पर्क औषधी विभागमा सम्पर्क गर्न आग्रह गरिएको हो ।
यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रतिष्ठानलाई अनियमितता,बिचौलिया र अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर जारी रहने बताएका छन्।
घिमिरेका अनुसार प्रतिष्ठानसँग सम्बन्धित समस्यालाई प्रशासनिक, अन्तर निकाय समन्वय तथा कानुनी प्रक्रियाअनुसार वर्गीकरण गरेर समाधानको काम अघि बढाइएको छ।
घिमिरेले प्रतिष्ठानको अतिक्रमित जग्गाको पहिचान, सीमाङ्कन तथा संरक्षणको काम तीव्र रूपमा अघि बढाइएको, उठ्न बाँकी करोडौँ रुपैयाँ बक्यौतासम्बन्धी विवरण सङ्कलन गरी कानुनी प्रक्रियामार्फत असुलीको तयारी भइरहेको जानकारी दिए।
बिरामीलाई निजी मेडिकल मार्फत आर्थिक शोषण गर्ने बिचौलियामाथिको कारबाही अझ प्रभावकारी बनाइने प्रजिअ घिमिरेले बताए ।
पक्राउ परेकालाई छुटाउन राजनीतिक वा अन्य कुनै प्रकारको दबाब आएको हो भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, दबाबमा झुक्ने प्रश्न नै उठ्दैन। कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुन्छ।ू