इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको मतपरिणाम अनुसार गायत्री कटवाल अध्यक्षमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतान्तरले पराजित गर्दै कटवाल निर्वाचित भएकी हुन् ।
कुल २१८३ मत मध्ये १५४३ मत खसेकोमा कटवालले ७५८ र काफ्लेले ७४३ मत पाएका छन् । कटवाल विजयी भएसँगै उद्योग वाणिज्य सङ्घ इटहरीको पहिलो महिला अध्यक्ष बन्ने अवसर पाएकी छिन् ।
अन्य सदस्यहरूमा नवराज प्यानल हाबी देखिएको छ । नवराज प्यानलका जीवन न्यौपाने सर्वाधिक ९८९ मत सहित विजयी भएका छन् । त्यस्तै दोस्रोमा सञ्जीव खड्काले ९८४ पाउँदा बलराम बस्नेतले ९६० मत प्राप्त गरे ।
त्यस्तै नवराज प्यानलकै सिनेट रिजाल ९५९, सञ्जय शाह ९५७, बलबहादुर न्यौपाने ९४३, सन्नी चौधरी ९१५, दिनेशप्रसाद धमला ९०८ र महेश थापाको पक्षमा ८८३ मत देखिएको छ ।
नवराज प्यानलबाटै एसोसिएटतर्फ विनोद पौडेल र वस्तुगततर्फ सन्जोग पराजुली सर्वसम्मत भएका छन् । महिला सदस्यमा नवराज प्यानलकी मिना ढकाल र गायत्री प्यानलकी सुमित्रा भट्टराई निर्वाचित भए।









































































