धरान :धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासका औषधि व्यवसायीहरूले औषधि व्यवसायीहरूलाई प्रहरीले बिचौलिया भन्दै पक्राउ गरेको विरोधमा रिहाइको माग गर्दै आज बुधवार इलाका प्रहरी कार्यालय धरान अगाडि विरोध प्रदर्शन गरेका छन् ।
मङ्गलवार राति १० जना औषधि व्यवसायी पक्राउ परेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिए ।
उनीहरूले निर्दोषलाई तत्काल रिहा गर, हाम्रो व्यवसाय मास्न पाइँदैन, आत्मसम्मानसहित बाँच्न पाउने हक अधिकार सुनिश्चित गर लगायतका नाराहरू लगाएका थिए।
प्रदर्शनमा सहभागी व्यवसायीहरूले पक्राउ परेकाहरू निर्दोष रहेको दाबी गर्दै उनीहरूलाई बिना सर्त रिहा गर्न तथा औषधि व्यवसायीमाथि भइरहेको दमन रोक्न माग गरेका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय सुनसरीले बिपी प्रतिष्ठान परिसरमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकलबाट औषधि खरिद गराउन प्रलोभन देखाउँदै बिचौलियाको भूमिका खेलेको आरोपमा १० जना औषधि व्यवसायीलाई पक्राउ गरेको थियो ।