धरान : सय वर्ष अघि धरान स्थापनाकालमा प्रयोग गरिने खानेपानीको परम्परागत मुहान धरान–३ मेरीगोल्ड स्कुल मास्तिर गोल्सी स्थित गौरी कुवालाई जीर्णोद्धार गरी पानी टङ्की र ढुङ्गे धारा निर्माण गरिएको छ ।
धरानको ऐतिहासिक पानीको श्रोतहरू मध्ये विजयपुरको तिन धारेबाट भूमिगत भएर आउने पानीबाट प्राकृत रूपमा गौरी कुवा बनको हो । गौरी कुवा पछिल्लो समय लुगा धुने, नुहाउने र विशेष गरी काज किरिया बस्ने किरिया पुत्रीहरूलाई पकाएर खान, चोखिन सहज स्थल बनेको छ ।
घर घरै पानी पुगेपछि उपेक्षित पानीको श्रोत जस्तै गौरी कुवा पनि उपेक्षित बनेकोले कोशी प्रदेश सांसद यशोदा कायस्थको ध्यान गौरी कुवाको जीर्णोद्धारमा गएको हो । सांसद कायस्थको पहलमा आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित ८ लाख बजेटबाट जीर्णोद्धार भएको छ ।
कुवाको पानीलाई सरसफाई सही सुरक्षित गर्न खानेपानी टङ्की निर्माण गरिएको छ । पानी उपभोगका लागि परम्परागत इतिहास झल्किने ढुंगेधारा निर्माण गरिएको छ । जीर्णोद्धार पछि सौन्दर्यीकरण समेत भएको गौरी कुवाको सोमवार सांसद कायस्थले उद्घाटन गरिन् ।
भानुभक्तको जीवनीमा घाँसी कुवाबाट उनले ठुलो प्रेरणा पाएको उल्लेख छ । २१३ औँ भानु जयन्तीकै संयोग मिलाएर कुवा उद्घाटन गरिएको हो ।
सांसद कायस्थले पुरातात्त्विक ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सरकारको दायित्व भएको बताइन् । उनले स्थानीयको माग अनुसार उक्त स्थललाई काज किरिया कर्ता स्थलका रूपमा व्यवस्थित गर्न पुनः ७ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकी छन् । 
धरान–३ का वडाध्यक्ष विद्या शाक्यले योजना कार्यान्वयनमा सहयोग पुर्‍याउने कोशी प्रदेश सरकार,सांसद कायस्थप्रति आभार प्रकट गरे । कार्यक्रममा वडा सदस्य मिङमा भोटे,मनिष खडगी,आदिवासी जनजाती धरान अध्यक्ष सुरेन्द्र मान स्थापित, नेवा पासा खल अध्यक्ष अमृत श्रेष्ठ लगायत उपस्थित थिए ।