धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्राडा स्मृति कार्कीले सोमबार पदभार ग्रहण गरेको अवसरमा आफ्नो प्राथमिकता प्रमुख तीन कुरामा केन्द्रित रहने बताएकी छन् । बिपीको आर्थिक सुधार, डिजिटलाइजेसन र एमआरआई सेवा पहिलो प्राथमिकतामा रहेको उनको भनाई छ । 
सञ्चारकर्मीसँग कुरा गर्दै उपकुलपति कार्कीले तत्काल प्रतिष्ठानको सुशासन, पारदर्शिता, अस्पताल डिजिटलाइजेसन, गुणस्तरीय स्वास्थ्य सेवा र आर्थिक सुधारका कदम चालिने घोषणा गरिन् । 
नेपाल–भारत एमओयू अघि बढाइने :
उपकुलपति कार्कीले अस्पताल डिजिटलाइजेसन प्रमुख प्राथमिकतामध्ये एक भएको बताउँदै भारतसँग भएको एमओयु अघि बढाउने बताइन । प्रधानमन्त्री बालेन शाहसँगको भेटमा नेपाल र भारतबिच अस्पताल डिजिटलाइजेसन सम्बन्धी भएको समझदारी पत्र एमओयु कार्यान्वयनको प्राथमिकता बारे जानकारी दिएको बताइन् । 
उनका अनुसार सम्झौताको फायल अन्तिम चरणसम्म पुगे पनि सम्बन्धित शाखामा केही प्रशासनिक अन्योलका कारण रोकिएको विषय उठाएको बताइन् । प्रधानमन्त्रीसँग सम्बन्धित फाइल यथाशीघ्र अघि बढाउन आग्रह गरेको बताइन् । 
एमआरआई र मातृ–शिशु केन्द्र :
स्वास्थ्य तथा जनसंख्यामन्त्रीले हालै प्रतिष्ठानको अनुगमन गरेपछि एमआरआई सेवा सञ्चालन तथा मातृ–शिशु केन्द्र एमसीएच निर्माण प्रक्रिया अघि बढेको उपकुलपति कार्कीले जानकारी दिएकी छन् , उनले भनिन् ‘एमआरआई र मातृ शिशु केन्द्र सेवा चाँडै सञ्चालनमा ल्याउने काममा लागेकी छु ।’
अस्पताल र आर्थिक अवस्थाको अध्ययन :
पदभार ग्रहण लगत्तै अस्पताल तथा आर्थिक प्रशासनका जिम्मेवार अधिकारीसँग छलफल गरी प्रतिष्ठानको समग्र वस्तुस्थिति अध्ययन गरेर त्यसका आधारमा कार्य योजना तयार गरिने उनले बताइन् । 
उनका अनुसार आर्थिक सुधारका लागि नेपाल सरकारबाट केही वित्तीय दायित्व तथा रकम प्राप्त भइसकेकाले विगतको तुलनामा प्रतिष्ठानको आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी गरिन् । 
आधारभूत सेवामा सुधार :
अस्पतालमा आवश्यक औषधि, उपकरण तथा अन्य लजिस्टिक व्यवस्थापनको अवस्था अध्ययन गरी अभाव भएका सामग्रीको उपलब्धता सुनिश्चित गरिने उनको भनाई छ । बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आधारभूत पूर्वाधार सुदृढ बनाइने उनले बताइन् । 
प्रतिष्ठानमा एमबिबिएसको १५० सिट विस्तारका लागि आवश्यक पूर्वाधार रहे पनि छात्रावास सहित अन्य सबै पक्षको विस्तृत अध्ययनपछि मात्र प्रक्रिया अघि बढाइने बताएकी छन् । प्रतिष्ठानको सबैभन्दा ठुलो सम्पत्ति जनता र विद्यार्थीको विश्वास भएको उपकुलपति कार्कीको भनाई छ ।
प्रतिष्ठानमा उपकुलपति नियुक्त हुँदाको अनुभवका बारे उनले भनिन् ‘मेरो नियुक्ति व्यक्तिगत उपलब्धि भन्दा प्रतिष्ठान र राष्ट्रप्रतिको जिम्मेवारीको लागि भएको हो ।’ प्रतिष्ठानका शिक्षक, चिकित्सक, नर्स,कर्मचारी,विद्यार्थी,शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरिन् । 
प्रतिष्ठानमा २४ वर्षदेखि अध्ययन,अध्यापन र सेवा गर्दाको अनुभवले प्रतिष्ठानको चुनौती र सम्भावनाबारे आफूलाई नजिकबाट बुझ्ने अवसर मिलेको उनको भनाई छ । तिने अनुभवको आधारमा प्रतिष्ठानलाई स्वच्छ, पारदर्शी र सकारात्मक कार्य संस्कृति विकास गर्दै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।
vc-samna-1