चतरा : वराहक्षेत्र नगरपालिकाको ५ नं वडा कार्यालयमा विवादास्पद छवि भएका वडा सचिव निलम कार्कीलाई हाजिर गराएकोमा वडामा क्रियाशील ५ राजनैतिक दलले विरोध जनाउँदै धर्नामा बसेका छन्।

वडावासीले नरुचाएको तथा विवादास्पद छवि भएको आरोप लगाउँदै ५ राजनीति दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी धर्नामा बसेका हुन् ।

बिहीबार वडा कार्यालयमा पुगेर ५ राजनैतिक दलले संयुक्त रूपमा वडाका कार्यवाहक वडाध्यक्ष डिल्ली थपलियालाई ध्यानाकर्षण पत्र बुझाएका थिए। वडामा हाजिर गरेका वडा सचिव निलम कार्कीको ठाउँमा अरू नै वडा सचिव ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको एक नेताले बताए।

अब दैनिक १-२ घण्टा धर्ना ३-४ दिन बस्ने यदि माग पूरा नभए वडा कार्यालयमा तालाबन्दी समेत गर्न बाध्य हुने बिहीबार सम्पन्न धर्ना कार्यक्रमका सभाध्यक्ष नेपाली काँग्रेसका वडा नं ५ सभापति दिलबहादुर पौडेलले बताए ।

नेपाली वराहक्षेत्र वडा नं ५ सभापति दिलबहादुर पौडेल, माओवादी केन्द्र वराहक्षेत्र-५ का इन्चार्ज अमित गौतम, जनता समाजवादी पार्टी वराहक्षेत्र नगर सचिव दिनेश कटुवाल, नेकपा एकीकृत समाजवादी वराहक्षेत्र नगर सचिव पुष्पनारायण धामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा नं ५ अध्यक्ष दुर्गा बस्नेत बस्नेतको हस्ताक्षर रहेको पत्रमा भनिएको छ....

'वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय चक्रघट्टि सुनसरीले विवादित एवम् जनताले नरुचाएका व्यक्तिलाई पुन: यसै वराहक्षेत्र नगरपालिका वडा नं ५ को वडा सचिव बनाई मिति २०७८ कात्तिक ३ गतेको बदर भएको निर्णयलाई सदर गराई कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपश्चात् अवैधानिक रूपमा पटक-पटक विवादमा तानिएको व्यक्तिलाई स्वार्थ पूरा गर्न लागि सचिव निलम कार्कीलाई यसै वडा कार्यालयमा सचिव भई कामकाज गर्न तोकिएको गैर जिम्मेवारी र भ्रष्ट कर्मचारीको मनोमानी लुकाउन निरन्तर त्यसैलाई ल्याउने उद्देश्य पटक पटक नगरपालिकाले गरेको गैर जिम्मेवारी कदम प्रति संयुक्त राजनीति दल खेद प्रकट गर्न चाहन्छ । सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल सचिव सरुवाको निर्णय फिर्ता लिन जोडदार माग गर्दछौ । यदि यो निर्णय फिर्ता नलिएको खण्डमा यस वाट उत्पन्न हुने सम्पूर्ण समस्याको जिम्मेवारी नगरपालिकाको कार्यालय आफै हुनुपर्नेछ । अन्यथा यो माग व्यवस्था गरेको खण्डमा थप सङ्घर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौँ।'