इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कम्युनिस्टलाई पराजित गर्न काँग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन् ।

काँग्रेसको चुनौती कम्युनिस्ट मात्र भएकाले त्यसको विरुद्धमा एकजुट भएर लाग्नुपर्ने बताए । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का नवनिर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिलाई शुभकामना दिँदै उनले काँग्रेसले एक भएर अगाडी बढ्नुपर्ने धारणा राखे । निर्वाचन आन्तरिक प्रतिस्पर्धा भएकाले पराजितले हिम्मत हार्ने र विजयीले दम्भ देखाउने काम नगर्न उनले आग्रह गरे।

धरानमा लामो समय पछि मेयरमा विजयी हासील गरेको स्मरण गर्दै डा. कोइरालाले अब स्थानीय तह, प्रदेश र प्रतिनिधी सभा सहित तिनै तहमा विजयी हुनुपर्ने बताए । नवनिर्वाचित समितिले धरानलाई काँग्रेसको गढ बनाउने विश्वास व्यक्त गरे ।

महाधिवेशनको प्रसङ्गमा बोल्दै उनले यसअघि यस्तो अधिवेशन कहिल्यै नदेखेको बताए । ४ वर्षमा हुने अधिवेशन ६ वर्षमा गर्ने त्यो पनि सभापतिको गृह जिल्लामा प्रहरी लगाएर प्रतिनिधिलाई छेकेर अधिवेशन गर्ने अवस्था आउनु दु:खद भएको धारणा राखे ।

प्रधानमन्त्री र गृहमन्त्रीकै निर्देशनमा प्युठानमा मतगणना हुँदाहुँदै प्रहरी लाई घाइते बनाउने देखी कतै मतदान गर्नै नदिने काम भएको उनले सुनाए । विधि विधान नमान्ने र समयमा काम नगर्ने संस्कार हाबी भएको कोइरालाको बुझाई छ ।

आफू सभापतिको उम्मेदवार भएको प्रस्ट पार्दै उनले युवाहरूको टिम सहित निर्वाचनमा होमिने उनको भनाई छ । आफू सभापति भए यस्तो भद्रगोल अवस्थाको अन्त्य गर्ने र कार्यकर्तालाई अन्याय हुन नदिने बाचा गरे ।

नवनिर्वाचित क्षेत्रीय सभापति सुरेन्द्र तामाङले देउवा समूहले षड्यन्त्र गरेर पनि आफूहरूले चुनाव जितेको बताए । आफू कुनै पनि कार्यकर्तालाई अन्याय हुन नदिने उनको भनाई थियो । अहिले काँग्रेस एजेन्डा विहीन भएकाले अब शेखर कोइरालालाई सभापति बनाएपछि काँग्रेस पुनर्जागरण सुरु हुने उनको बुझाई छ ।