धरान : करोडौं रकम जम्मा गरेका शेयर सदस्यहरूलाई मागेको बेला १५ हजार रुपैयाँ पनि दिन नसकेपछि पाँच सय बढी शेयर सदस्यहरूले धरानको बराह बचत तथा ऋण सहकारी संस्थामा आइतबार दिनभर घेराउ गरेका छन् ।

बराह सहकारीले तीन दिनअघि मात्र आयोजित आफ्नो १२ औं वार्षिक साधारणसभामा ३ करोड मुनाफा गरेको भनेर हिसाब देखाएको थियो । बराह ग्रुप अफ कम्पनी अन्तर्गत बराह सहकारी हो । जसको धरानमा बराह इण्डस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्पलेक्स सञ्चालन गरेको छ । यस्तै काठमाडौंको न्यूरोडमा, पोखराको चिप्लेढुङ्गा र चितवनको नारायणघाटमा शाखाहरू छन् । विदेशमा हङकङको जोडर्नमा, दुबईमा र बेलायतको अल्डरसटमा पनि शाखा छन् ।

यता सहकारीले करिब १३ हजार शेयर सदस्यको १० हजारदेखि ४० करोड रुपैयाँसम्म राखेको छ । वार्षिक साधारणसभामा सहकारीले ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा जम्मा गरेको देखाइरहेका बेला वर्षौंदेखिको रकम चाहिएको बेलामा नपाएपछि सहकारी विरुद्ध शेयर सदस्यहरू आक्रोशित भएका हुन्।

संस्थाले शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा, निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ ३४ पैसा र ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा गरेको जनाएको थियो ।

baraha-sahakari-dharan
सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्मा

धरान-१६ बस्ने प्रदीप अधिकारीले भने, ‘बराह सहकारीमा मैले २५ लाख रुपैयाँ जम्मा गरेको छु । तर चाहिएको बेला आफ्नै पैसा निकाल्न आउँदा १५ हजार रुपैयाँ पनि दिन नसक्ने बताएर पटक पटक रित्तै फर्किनु परेको छ ।’ उनले शेयर सदस्यहरूको रकम सुरक्षित गर्नका लागि संघर्ष समिति बनाएर कानुनी प्रक्रियामा जाने बताए ।

बिरामी भएपछि शल्यक्रिया गर्न पैसा चाहिएकाले झापाको बिर्तामोडबाट रकम निकाल्न आएकी कमला लिम्बू तवेबुङ बोल्नै नसक्ने अवस्थामा पुगेकी थिइन् । उनले बराह सहकारीमा १० लाख रुपैयाँ, उनको देवरको २० लाख रुपैयाँ र आमाजु दिदी आशा राईको ५ लाख रुपैयाँ राखेको तर चार महिनादेखि धाउँदा एक रुपैयाँ पनि नपाएको बताइन् ।

उनले भनिन्, ‘दु:खले कमाएको पैसा सबै डुब्ला भन्ने चिन्ता लाग्न थालेको छ । खै कसरी उकास्ने हो भेउ नै पाउन सकेको छैन ।’ धरान-१६ कै कृष्णशोभा राई र सरिता राई सासू-बुहारीलाई सहकारीले तीन साताअघि नै कुपन दिएर आइतबार पैसा लिन आउनु भन्ने भाका राखेको थियो । सहकारीले भने अनुसार रकम लिन जाँदा ७ लाख रुपैयाँ नदिएपछि डुब्ला भन्ने चिन्ता लाग्न थालेको उनीहरूले बताए।

रकम माग्न आउँदा सहकारीका कर्मचारीले टोकन दिने गरेका छन् । टोकन दिएर ‘केही दिनपछि तपाईँलाई फोन गरेर बोलाउँछौं’ भनेर रित्तै पठाउने र फोन पनि नगर्ने, टोकन अनुसार पैसा लिन जाँदा ‘आज पैसा छैन’ भनेर फर्काउने गरेको पीडित शेयर सदस्यहरूले बताए।

इटहरीका जुना कार्कीले पाँचजना साथीहरूको रकम जम्मा गरेर १२ लाख रुपैयाँ र आफ्नो १५ लाख रुपैयाँ गरी २७ लाख रुपैयाँ सहकारीमा राखेको बताइन् । उनले भनिन्, ‘घर निर्माण गर्न भनेर पैसा निकाल्न मैले चार महिनादेखि धाएको धाएकै छु । तर दिँदैनन् । उता साथीहरूको पैसा पनि मेरै विश्वासमा राखेकाले मलाई नै मागिरहेका छन् । सहकारीले गर्दा मानसिक तनाब भइरहेको छ । डिप्रेसन नै होला जस्तो भइसक्यो ।’

धरान १९ चौकीबारी बस्ने पूर्वबेलायती सेनाका योगराज राईले सहकारीमा १७ लाख राखेकोमा आफ्नो उपचारका लागि पाँच लाख रुपैयाँ निकाल्न भनेर पुस १६ गते नाम टिपाएको बताए । आइतबार पैसा लिन भनेर सहकारीको कार्यालयमा जाँदा आफूजस्तै पैसा नपाउनेको भीड देखेर फर्किएको बताए । ‘सहकारीमा राखेको पैसा त दिनु पर्ने हो नि । तर माग्न जादा बैंकमै पैसा नभएर दिन नसकेको भन्दै फर्काउने गरेको छ । यस्तो कसरी हुन्छ रु’ उनले सोधे।

बराह सहकारीमा सबैभन्दा बढी रकम सेवानिवृत्त सैनिकहरूले जम्मा गरेका छन् । सहकारीका अध्यक्ष मानबहादुर दियाली र संचालक सदस्य गंगाबहादुर कालीकोटे सँग भने यस विषयमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । आफूलाई सहकारीको व्यवस्थापक बताउने रवीन विकले भने ‘क्यास क्राइसिस’ भएकाले शेयर सदस्यहरूलाई मागे जति रकम दिन नसकेको बताए । उनले भने, ‘सहकारीले १ अर्ब बढी लागनी गरेको छ । तर यता राष्ट्र बैंकले पनि रकम प्रवाहमा रोक्का गरेको छ । नेताहरूले पनि पैसा लुकाएका छन् ।’ उनले सेवाग्राहीलाई केही दिन पर्खन भनेर सम्झाएको बताए ।

सहकारीले कति जना सदस्य छन् र कति रकम जग्गामा लगानी भएको छ भनेर पारदर्शी हिसाब भने सार्वजनिक गरेको छैन । धरान उपमहानगरपालिका-१५ का वडाध्यक्षसमेत रहेका सहकारी विकास समितिका संयोजक नरेश इङ्वारमले भने, ‘तीन दिनअघि मात्रै सहकारीले ३ करोड मुनाफा गरेको भनेर पत्रिका हिसाब सार्वजनिक गरेको थियो । नाफामा गएको सहकारीले आफ्ना शेयर सदस्यलाई अहिले आएर पैसा दिन नसक्नु त अचम्म भयो । तर हालसम्म कसैले पनि उजुरी वा निवेदन दिएका छैनन् ।’ उनले शेयर सदस्यहरूले निवेदन दिएमा समितिले छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउने र बचतकर्ताको रकम संरक्षण गर्न सकिने बताए।

बराह ग्रुपमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङकङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृष्य डिजिटल प्रालि रहेका छन्।

https://ekantipur.com/बाट साभार