धरान: सोमबार मध्याह्न धरान १३, जिरोपोइन्टमा भयानक दुर्घटना भयो । जसमा चालक र एक पाँच महिने बच्चीसहित ४ जनाको ज्यान गयो ।

दुर्घटना हुँदा अधिकांश चालकले लापरवाही गरेको भन्दै दोष दिइन्छ । तर, यो दुर्घटनामा भने प्रहरी प्रशासन र घाइते यात्रुहरुले पनि चालकलाई दोष दिएका छैनन् । बरु उनले त ठुलो क्षति हुनबाट जोगाउन प्रयास गरेको वयान प्रहरीले मात्र होइन, घाइते यात्रुहरुले नै दिइरहेका छन् ।

ती चालक थिए, हाल धरान १५ मा डेरा गरी बस्ने चक्रबहादुर गुरुङ । उनको पुख्यौली थलो एवं जन्मस्थान भने तेह्रथुमको लालीगुराँस नगरपालिका ४, बसन्तपुर हो । लामो समय धरान ८ मा डेरा गरि बसेका उनी हाल धरान १५ मा बस्नथालेका थिए । धरानमा यातायात मजदुरी गर्नुअघि उनी साउदी अरबमा ५,६ बर्ष रोजागारीमा रहेर फर्किएका थिए ।

‘एकदम इमान्दार मान्छे थिए । चालचलन पनि एकदमै राम्रो थियो,’वसन्तपुरमा चालक गुरुङका छिमेकी रहेका नेपाल पत्रकार महसंघ सुनसरीका कोषाध्यक्ष गोविन्द बस्नेतले भने,‘एकदमै दुःख लागेको छ ।’ मृतक गुरुङकी श्रीमति र २ छोरा छन् । श्रीमति अनिता वैदेशिक रोजगारीमा एक बर्षअघि दुबई गएकी छिन् भने जेठा छोरा अभिषेक(करण) पनि दुबईमै छन् । धरानमा डेरामा मृतक चालक गुरुङ र कान्छा छोरासँगै रहेको पत्रकार बस्नेतले जानकारी दिए ।

accidents68

धनकुटाको चौबिसे गाउँपालिका ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस शिवधारा कटेपछि सन्तुलन गुम्यो । बसको ब्रेक फेल भएको चाल पाएका चालक चक्रबहादुर गुरुङले छाताचोक, भानुचोकतिर पुग्दा ठुलो जनधनको क्षति हुने आँकलन गरेरै जिरोपोइन्टमा भएको सिमेन्टको फुटबल, स्वामीको रुख र विजुली, टेलिकमको पोलमा बसलाई ठोक्काएका थिए । यात्रुलाई पनि सुरक्षित गर्ने उनको अर्पझट निर्णयले अन्ततः चालक गुरुङकै पनि ज्यान गुम्यो ।