यही जेठ २७ गते सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचन हुदैछ । उद्योगी, व्यवसायीहरुलाई यतिबेला चुनावको रौनक छाएको छ । निर्वाचनको लागि अध्यक्ष पद र सदस्य पदमा उम्मेद्वारी मनोनयन दर्ता पनि भइसकेको छ । तिनै मध्ये धरानका युवा व्यवसायी विष्णु वरालले पनि यसपाली उद्योगतर्फको सदस्य पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । करिब अढाई दशकदेखि एप्पल डिजिटल प्रिन्टर्सबाट डेस्कटप तथा प्रिन्ट व्यवसायमा जमेका उनी धरान जेसीज, नेपाल जेसीजमा संलग्न भई हाल प्रिन्टर एशोसिएशनको अध्यक्ष पनि हुन् । विभिन्न संघसंस्थामा आबद्ध अनुभवी, क्रियाशील उम्मेदवार वरालसँग आसन्न निर्वाचनको सन्दर्भमा कपुरी न्यूजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: निर्वाचनको तयारी कस्तो भइरहेको छ ?

उत्तर: निर्वाचनको तयारी उत्साहजनक रुपमा भईरहेको छ । तयारीका क्रममा भएको सबैसंग भेटघाटले मलाई झन् उत्साहित बनाएको छ ।

प्रश्नः तपाईले व्यवसाय थालेको त २४ बर्ष भइसक्यो, यसअघि चै संघमा किन उम्मेदवारी नदिनु भएको ?

उत्तर: कर्ममा विश्वास राख्ने मैले १६ वर्षको उमेरदेखि व्यवसाय शुरु गरे । आफू अनि परिवार सक्षम भएपछि मात्र समाजमा सक्रियता पूर्वक कार्य गर्न सकिन्छ भन्ने मेरो विश्वास अनुसार मैले धरान जेसीज संगसंगै नेपाल जेसीज सम्मको यात्रा तय गर्दै गए । “सिद्धान्त भन्दा महत्वपूर्ण गुरु चाहि अनुभव नै हो” भन्ने मन्त्रले नै हालसम्म मैले उम्मेदवारी दिएको थिईन । आदरणीय व्यवसायी अभिभावकहरुबाट “अब तिमी सक्षम भयौं” भन्ने सुझावले यसपालि मैले पाईला अघि सारेको हो ।

Untitled-1

प्रश्न: यसपाली चै चुनावमा उठ्नुको कारण के हो त ?

उत्तर: मेरो अनुभवबाट अब चाहि म सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा जान योग्य छु भन्ने सबैको मनसायले यसपाली मेरो उम्मेदवारी हो ।

प्रश्न: जित्छु भन्ने तपाईको आधार के छ ?

उत्तर: उद्योगी व्यवसायीको साथ, सद्भाव र मेरो क्रियाशिलतालाई यहाँहरुले गर्ने मूल्यांकन नै मेरो यात्रा तय गर्ने आधार हो ।

प्रश्न: तपाईको एजेण्डाहरु के हुन् ? किन तपाईलाई भोट दिने ?

उत्तर: उद्योगी व्यवसायीलाई संघमा कागजमा मात्र नभई प्रत्यक्ष रुपमा संघसंग नजिक बनाउनु, उनीहरुको समस्यालाई निराकरण गर्न ¥यापिड सपोर्ट टिम निर्माण गर्ने र व्यापार संगसंगै उद्योग स्थापना गर्न पहल गर्ने मेरो लक्ष्य हो । जसले गर्दा रोजगारीबाट समृद्धता सृजना हुन सक्दछ । साथै धरानमा शनिबार अघोषित रुपमा र सोमबार घोषित रुपमा बजार बन्द हुन्छ, यसलाई पनि समाधान गर्नु पर्दछ ।

प्रश्न: तपाईलाई त नेपाली कांग्रेस निकट भनिएतापनि कांग्रेसले नै उम्मेदवारी फिर्ता गरायो भन्ने हल्ला पो सुनियो त ?

उत्तर: राजनैतिक आस्था सबै चेतनशिल मानवको हुन्छ तर यो त पार्टीको निर्वाचन नभई उद्योगी व्यापारीहरुको प्रतिनिधि छनौट गर्ने प्रक्रिया भएकोले मेरो उम्मेदवारीमा कांग्रेसले कसरी हस्तक्षेप गर्छ र ? के म विवेकी छुईन ?

प्रश्न: धरानको व्यापार व्यवसाय एकदमै खस्कियो भनिन्छ, संघले के गर्नुपर्छ अथवा तपाई जितेर गएपछि के भुमिका हुन्छ ?

उत्तर: हामी चिन्तित नै हुन सकेका छैनौं, धरानको व्यापारमा । सेल्सबेरी जस्तो व्यवसायिक प्रतिष्ठान धरानबाट बाँहिरिदा हाम्रो मौनताले केही गर्न सकेन । ठूलाठूला होटल स्थापना हुदा अझ प्रवद्र्धन गर्न सकेका छैनौं । वास्तवमै समृद्ध हुन वस्तु निर्यात गर्न सक्नु पर्छ र त्यसको लागि उद्योग स्थापनामा हामीले जोड दिनु पर्दछ जसबाट समृद्धता प्राप्त गर्न सकिन्छ ।

Bishnu--2

प्रश्न: युवाहरुलाई उद्यमशिल बनाउन र रोजगारी सृर्जना गर्न संघले के गर्नुपर्छ ? तपाईको विचार वा योजनाबारे भन्नु त ।

उत्तर: उद्योग स्थापनामा हामी वास्तवमै निरीह रहेका छौं र स्थानीय निकाय र प्रदेश सरकारसंग हामीले समन्वय पनि गर्न सकेका छैनौं । धरान घुम्न आउने पर्यटकलाई बिक्री गर्न सक्ने धरानको चिनो सम्म त हामीले उत्पादन गर्न सकेका छैनौं । कसरी युवाहरु उद्यमी हुने । भर्खरै प्रदेश सरकारको २० करोड सहयोगमा हाम्रै छिमेकी नगरमा धुलो दुध उत्पादन हुन थाल्यो खै हाम्रो पहल । अब हाम्रो नेतृत्वमा रचनात्मक काम हुन्छ जसले युवाहरु लाभान्वित हुन्छन् ।

प्रश्न: चुनावमा उठेपछि धेरै खर्च गर्ने परिपाटी नि छ, तपाईले पनि खर्च गर्नु भयो कि ?

उत्तर: मेरो आफ्नै स्वविवेक प्रयोग गरि भएको उम्मेदवार म । क्षमता र दक्षतामा विश्वास राख्ने मलाई पैसाबाट हैन मेरो क्षमताबाट आफूलाई उद्योगी व्यापारीहरुमा माझ चिनाउन सक्छु भन्ने मलाई आत्मविश्वास छ ।

प्रश्न: अन्त्यमा, संघ स्वतन्त्र उद्योगी, व्यापारी र व्यवसायीहरुको छाता संगठन हो भनिन्छ, तर विगतदेखि नै चुनावको बेला राजनीतिक लविङ र हस्तक्षेप भएको प्रष्ट देखिन्छ, के यो राम्रो हो ?

उत्तर: अब मतदाताहरु निकै सचेत भईसकेका छन् ! जतिसुकै पार्टीको लविङ भयो भने पनि मतदान स्वविकले हुने गर्दछ । नतिजा कहिल्यै पनि एउटा पार्टीको पक्षमा आएको छैन । म आफै पनि राजनैतिक रंगबिनाको उम्मेदवार हो भने राजनैतिक हस्तक्षेप कसरी राम्रो हो र ? हैन त ।