सुनसरी : इटहरी उपमहानगपालिकाका मेयर द्धारिकलाल चौधरीले यौनकर्मी महिलाहरुको बिषयमा अपाच्य शब्द बोलेकोप्रति माफी मागेका छन् ।

उनले इटहरी १६ र १७ मा नागरिक समाजले आयोजित कार्यक्रममा यौनकर्मी महिलाहरुलाई लक्षित निकृष्ट शब्द प्रयोग गरेका थिए । उनले पटक पटक रण्डी जिन्दावाद भनेको भिडियो भाइरल बनेपछि महिला अधिकारकर्मीहरु मात्र होइन, प्रदेश सभामा पनि आज उनको अभिव्यक्तिबारे कुरा उठेको थियो । चौतर्फी आलोचना खेपेपछि मेयर चौधरीले आज साँझ एक विज्ञप्ती जारी गर्दै क्षमा याचना गरेका छन् । महिलाप्रति आफ्नो भावना र आशय गलत नभएको स्पष्टीकरण दिदै उनले सदैव महिला दिदीबहिनीहरुप्रति सम्मान गर्ने बताएका छन् । 'तथापी सो कार्यक्रममा मैले बोलेका केही शब्दहरुले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछुँ,'विज्ञप्तीमा भनिएको छ ।

मेयर चौधरीले यसअघि पनि पत्रकारहरुलाई दुव्र्यवहार गरेका थिए भने लात्ताले हान्ने जस्ता अमर्यादित अभिव्यक्ति दिएका थिए । साथै, नाकको डाँढी भाच्न १ करोड छुट्याएको धम्की पनि दिएका थिए । त्यसबेला पनि मेयर चौधरीले पछि विज्ञप्ती निकालेर दुःख व्यक्त गरेका थिए । आफ्नो मर्यादाको ख्यालै नगरी मिडिया र सार्वजनिक कार्यक्रमहरुमा जथाभावी बोल्ने र पछि विज्ञप्ती निकालेर दुःख व्यक्त गर्ने, माफी मागेर उम्कने उनको शैलीप्रति आम सर्वसाधारणहरु भने अचम्मित छन् ।

उनलाई सम्बन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीले कारबाही नगरेको प्रति धरानका व्यवसायी एवं सामाजिक अभियन्ता प्रेमप्रसाद पराजुली अचम्म प्रकट गर्छन् । 'पहिला केन्द्रीय सरकार मन्त्री शेरबहादुर तामांगले वंगलादेश पढ्न गएका छात्राबारे आपत्तिजनक बोले भनेर राजिनामा दिनुपर्यो, यी मेयरलाई चै किन छुट ?' उनी प्रश्न गर्छन्,'एउटै मुलुकमा, एउटै पार्टीका मान्छेलाई फरक कानुन, व्यवहार हुन्छ ? कि शेरबहादुर केपी ओली गुटका नपरेर मात्र राजिनामा दिनु पर्या थियो कि ?'

press 2

विगतमा संघीय सरकारका कानुन मन्त्री शेरबहादुर तामांगले सार्वजनिक कार्यक्रममा वंगलादेशमा अध्ययन गर्न गएका छात्राहरुको बारेमा आपत्तिजनक बोलेको भन्दै विरोध हदा नेकपाकै सांसदहरुले राजिनामाको माग गरेका थिए । पार्टी भित्रैबाट चौतर्फी दबाब आएपछि उनले नैतिकता प्रकट गर्दै मन्त्री पदबाट राजिनामा दिएका थिए । अहिले मेयर चौधरीले पटक पटक मर्यादाबाहिर गएर बोल्ने र व्यवहार प्रर्दशन गर्दा पनि पार्टी, सरकारले सचेतसम्म गराएको छैन । मेयर चौधरीले पार्टीले पनि आफुलाई कारबाही गर्न नसक्ने भन्दै सार्वजनिकरुपमा नै चुनौती दिइरहेका छन् । पार्टीले उनलाई लगाम लगाउन नसक्दा उनको अराजक प्रवृत्ति र शैली दोहोरिरहेको छ ।