धरान:प्रहरीले पेस्तोल, त्यसमा प्रयोग हुने गोली र एसएलआरको गोलीसहित ३ जनालाई धरानबाट पक्राउ गरेको छ ।

हिजो बुधबार रातभरि गरेको सर्च अप्रेशनबाट प्रहरीले धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले रातभर गरेको सर्च अप्रेशन आज बिहान करिब ३ बजे मात्र सकिएको थियो । पक्राउ पर्नेहरुमा धरान १५ का ३९ बर्षीय सरोज गुरुङ र धरान ११ बाट भोजपुरको आमचोक गाउँपालिका ६ वास्तविक ठेगाना भएका २९ बर्षीय विजय राई र भोजपुरकै हतुवागढी गाउँपालिका २ घर भएका सुरेश राई रहेका छन् । उनीहरुको साथबाट लागुऔषध, मुखुण्डो, खुकुरी, लागुऔषध जोख्ने डिजिटल काटालगायत विभिन्न सामान पनि प्रहरीले वरामद गरेको छ । उनीहरुलाई आज दिउँसो करिब ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलको उपस्थितिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

lutpat

एसपी पोखरेलका अनुसार धरानका डिएसपी ढुण्डीराज न्यौपाने र प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीको सक्रियतामा हतियार भएको सुचना पक्का भएपछि बुधबार राती सरोज गुरुङको धरान १५ स्थित घरमा सर्च गरिएको थियो । त्यसक्रममा उनको कोठाबाट लागुऔषध डाइलेक्स फेला पर्यो । उनलाई सोधपुछ गर्दा घर पछाडि फोहोर फाल्ने ठाउँमा रातो झोलामा २ थान पेस्तोल राखिएको भेटिएको एसपी पोखरेलले जानकारी दिए । त्यसमध्ये एउटा म्यागजिन लोड भएको पनि थियो । यस्तै, उनकोे घरबाट १० थान पेस्तोलको गोली पनि र एसएलआरमा प्रयोग हुने ५ थान गोली भेटिएको थियो ।

गुरुङकै वयानको आधारमा धरान ११ स्थित आफन्त प्रविण राईको घरमा बस्ने सुरेश राई र विजय राईको बारेमा पनि जानकारी मिले पछि प्रहरीले त्यहाँ पनि सर्च गरेको थियो । त्यहाँबाट एसएलआरमा प्रयोग हुने ९ थान गोली, लागुऔषध खैरो हिरोइनजस्तो देखिने सानो टिनको बाकसभित्र साना साना पोका बनाएको १० थान, धारिलो खुकुरी २ थान र फलामको नक एक थान फेला परेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुको कोठाबाट मुखुण्डो ३ थान, नगद १५ हजार १ सय ३५ र डायसको गोटी पनि प्रहरीले वरामद गरेको छ । प्रहरीले तीनै जनाले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

lutpat-pestol

एसपी पोखरेलका अनुसार गत जेठ १२ गते धरान ४ साउनेटारमा भएको गोलीकाण्ड पछि निरन्तर निगरानी र अनुसन्धानमा जुटिरहदा यो सफलता हात परेको बताए । पक्राउ परेकाहरु कुन कुन घटना र अपराधमा संलग्न छन् भन्ने खुलिनसकेको उनको भनाई छ । वरामद भएको मध्ये एउटा गोली मिस फायर भएकोले पेस्तोल यसअघि प्रयोग भइसकेको उनले बताए । ‘हामी प्रारम्भिक अनुसन्धानको क्रममा नै छौं, यिनीहरुले कुन कुन घटना गरएको हो । यहाँ मात्र हो कि अन्य जिल्लाहरुमा पनि घटना गराएको छ कि भनेर सबैतिर हेछौं,’एसपी पोखरेलले भने,‘चार पाँचदिन पछि सम्पुर्ण विवरणसहित फेरी पत्रकार सम्मेलन गरेर जानकारी गराउछौं ।’

lutpat-bike2