धरान:धरानको प्रवेश गर्ने मुख्य नाका तीनकुनेमा बुधबार राती प्रहरी चेकिङको क्रममा मोटरसाइकल छोडेर भाग्न खोज्ने दुई जनालाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

तीनकुनेमा प्रहरी चेकिङ भइरहेको देखेपछि राती करिब साढे ९ बजे इटहरीबाट धरानतर्फ आइरहेको बा ४२ प २९७३ नम्बरको मोटसाइकल छोडेर भाग्न खोज्ने दुई जनालाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोटरसाइकल चालक जिल्ला उदयपुर त्रियुगा ननगरपालिका १०, बोक्सेका २० बर्षीय पुकार पौडेल र पछाडी सवार १९ बर्षीय सुवास बिक भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुको शरीर खानतलासी गर्दा मोटरसाईकलमा पछाडी सवार सुवासले बोकेका ेकालो झोलाभित्र २ पोका खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट नोकिया मोबायल १ थान फेला पनि वरामद भएको छ । उक्त खौरो हिरोइन तौल गर्दा ५२ ग्राम भएको र चालक पुकार पौडेलको साथबाट नगद २६ हजार र एमआई मोबायल १ थान पनि वरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध र मोटरसाईकलसहित दुवैलाई प्रहरी कार्यालयमा ल्याएर लागुऔषध मुद्दामा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।