चितवन: पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई अदालतले आज पुनः ५ दिन थुानामा राख्न अनुमति दिएको छ ।

टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसहित ३ जनामाथि पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान चलिरहेको छ । यसअघि पनि जिल्ला अदालत चितवनले ५ दिन थुनामा राख्न अनुमति दिएको थियो । आज पुनः अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई दोस्रो पटक अनुसन्धानको लागि ५ दिन थुनामा राख्न म्याद थप गरेको हो ।

यसअघिको ५ दिनको म्याद हिजो सोमबार सकिएको कारण चितवन प्रहरीले आज उनीहरुलाई जिल्ला अदालत चितवनमा पेस गरेको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरे अनुसार नै अदालतले म्याद थप गरिदिएको हो ।

सञ्चारकर्मी लामिछानेका कानुन व्यवसायी सुनिल पोखरेलसहितले भने धरौटीमा छोडेर कानुनी प्रक्रिया अघि बढाउन माग गरेका थिए । तीन नम्बर बेञ्चमा भएको सुनुवाईमा न्यायाधीश गायत्रीप्रसाद रेग्मीले दुवै पक्षको बहस सुनेपछि ५ दिनको म्याद थप गर्ने अनुमति दिएका थिए । पक्राउ परेकाहरुको वयानसँगै अनुसन्धानको काम अझै बाँकी रहेको प्रहरी दाबी छ ।

घटनाबारे मृतक पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन् । सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएको स्रोतको भनाई छ । प्रहरी स्रोतका अनुसार बयानका क्रममा रविले अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका थिए ।

पुडासैनीको झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

चितवन प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको चितवन प्रहरीको भनाई छ ।

यसैगरि, पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज पनि मृतककै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ । यो घटनाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट एसपी दीपक रेग्मी चितवन पुगिसकेका छन् ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छन् । मृतक पुडासैनीले रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको कारण आफु आत्महत्या गर्न बाध्य भएको भन्दै मोवाइलमा भिडियो रेकर्ड गरेका थिए । यसैको आधारमा प्रहरीले अनुसन्धानको लागि तिनै जनालाई नियन्त्रणमा लिएको हो ।