झापा : नेपालको पूर्वी प्रबेशद्धार झापाको मेचीनगर नगरपालिका पछिल्लो समय तस्करीको अड्डा जस्तै बन्दै गएको छ । मेचीनगर क्षेत्रबाट कहिले मरिच, कहिले खाद्यान्न, मेसिनरी पाटपुर्जा, लत्ताकपडा लगायतका सामानको अवैध आयात–निर्यात हुने गरेको छ । प्रहरीले दिनहुँ जसो अवैध सामान बरामद गर्ने गरे पनि त्यसमा संलग्न प्रायसः पक्राउ पर्दैनन् । किन सामान मात्र बरामद हुन्छ ? यो पेचिलो प्रश्न हो । सोही कारण पनि अवैध धन्धा बन्द नभएको झापा बिर्तामोडका कल्पना सिलवाल बताउछिन् ।

दशैं नजिकिएसँगै नेपालबाट सर्बसाधारणहरु भारतीय बजार पानीट्याङ्की नक्शलबाडी, गलगलिया लगायतका बजार जाने गर्दछन् । तर फर्कदा उनीहरुले घरायसी प्रायोजनका लागि ल्याएको दैनिक उपभोग्य बस्तुमा भने भन्सारमा बसेका कर्मचारी र प्रहरीले आखा लगाउने गर्छन । तर ब्यापारिक प्रायोजनका लागि ल्याईएका सामान भने सेटिङमा भन्सार नतिरी नेपाल प्रबेश गराउने गरेको झापा भद्रपुरका बिमला दाहाल बताउछिन् ।

अवैध मालसामान तस्करीले लाखौँको राजश्व गुमिरहेको छ भने स्वदेशी उत्पादन समेत मर्कामा पर्ने गरेको छ । नेपालमा उत्पादिन सामग्री भारतको भन्दा लागत मूल्य बढी हुने भएकाले महँगो पर्छ । त्यसमाथि तस्करी गरेर राजश्व छलेर आयात गरिएका सामान सस्तोमा बजारमा छ्यास्छ्यास्ती भेटिने गरेको छ ।

सरकारले कतिपय खाद्यान्न लगायतका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ तर तस्करको अवैध धन्धाका कारण उपभोक्ता न्यून गुणस्तरीय वस्तु उपभोग गरिरहेका छन् । अधिक मुनाफाको लोभमा परेर व्यापारीले समेत त्यस्ता वस्तु बेचिरहेका छन् ।

यसैबीच, मेचीनगर नगरपालिका-६ बाट १ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव ६० हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । त्यसैगरी नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको ७५ हजार बराबरको चुरोट बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइने उक्त कार्यालयले जनाएको छ ।