धरान: इलाका प्रहरी कार्यालय धरानले ठुलो परिणाममा लागुऔषध, पेस्तोल र गोलीसहित पक्राउ परेका एक व्यक्तिलाई सार्वजनिक गरेको छ ।

हिजो राती धरान १० विशाल पथस्थित डेराबाट पक्राउ गरेका २३ बर्षीय निरजकुमार राउतलाई वरामद लागुऔषध र हतियारसहित आज प्रहरीले सार्वजनिक गरेको हो । सुनसरीको कोशी गाउँपालिका ३ घर भएका राउत विशाल पथस्थित बलबहादुर तामाङको घरमा डेरा गरी बसेका थिए । राउतले त्यहीबाट लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालयबाट ५ दिनको रेकी पछि हिजो राउतलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

राउतको डेरा कोठामा खानतलासी लिदा बक्स पलंगको भित्रपटी रहेको बक्स कोठाहरुमा कालो प्लाष्टिक झोलामा लागुऔषध र हतियार लुकाएको अवस्थामा वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए । वरामद भएको हतियार उनले भारतको वीरपुरबाट किनेर ल्याएको स्वीकार गरिसकेको डिएसपी न्यौपानेले बताए । ‘धरानमा नै लागुऔषध सेवनकर्ता धेरै छन्, तर यो परिणाम हेर्दा यही संकलन गरेर कारोबार गर्ने र अन्यत्र पनि सप्लाई हुन्छ कि भन्ने अनुमान छ । हामी अनुसन्धानको क्रममा नै छौं,’डिएसपी न्यौपानेले भने ।

drugs1

प्रहरीका अनुसार फलामलाई बेरेर काठको बिड लगाएको, नम्बर र बनेको देशको नाम केरमेट गरेको अवस्थाको एउटा पेस्तोल, एक थान म्याग्जिन ७.६५ लेखिएको १३ राउण्ड गोली वरामद भएको छ । यस्तै, डाइलक्स डिसि १०० एमएलको २२५ बोतल, नाइट्रोसन १० लेखिएको ६४० ट्याब्लेट, खैरो हेरोइन ७ ग्राम र स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
यसैगरी, तौल गर्ने सानो मेशिन १ थान, मोटरसाइकलको भारतीय नम्बर प्लेट १ थान, डायरी १ थान, मोवाइल, ट्याब र नगद ११ हजार ३ सय ३० रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ ।

डिएसपी न्यौपानेका अनुसार राउत यसअघि पनि २ पटक लागुऔषध मुद्दामा पक्राउ परिसकेका थिए । उनलाई पहिलो पटक २०७२ माघ २२ गते लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यो बेला राउत धरौटीमा रिहा भएका थिए । उनी पुनः २०७४ असोज ७ गते जिल्ला प्रहरी कार्यालयबाट नै लागुऔषधसहित पक्राउ परेका थिए । दोस्रो पटक भने उनी १८ महिना कैदमा बसेर छुटेका थिए ।

drugs pestol spasmo-drug