धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी संस्थानका कर्मचारीहरुलाई बोर्डमा हाजिर भएर काम अघि बढाउन पत्राचार गरेको छ ।

केही दिनअघि राजधानीमा खानेपानी मन्त्री विना मगरसहित भएको बैठकले संस्थानको सम्पत्ति ३ महिना भित्र पुर्नमुल्यांकन गर्ने र सोही अनुसार हस्तान्तरण गर्ने तथा शाखाको कर्मचारीहरु दायित्वसहित बोर्डमा हस्तान्रतण गर्ने भनि २ बुँदे निर्णय भएको थियो । मन्त्रालयमा भएको सोही निर्णयअनुसार आज विहान खानेपानी व्यवस्थापन बोर्डको बैठक बसेर संस्थानको शाखामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई बोर्डमा हाजिर हुन पत्राचार गरेको हो । बोर्डको पत्र लिएर बोर्ड अध्यक्ष एवं धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी आपैm संस्थान पुगेकी थिइन् ।

धरानस्थित खानेपानी संस्थानको शाखा कार्यालयको सम्पत्ति तथा दायित्व हस्तान्तरणबारे मन्त्रीपरिषदले निर्णय गरे २०७५ असार ३१ गते नै राजपत्रमा प्रकाशित भइसकेको थियो । तर, यहाँका कर्मचारीहरुको असन्तुष्टीको कारण कार्यान्वयन हुन पाएको थिए । पछि बोर्डले करारका कर्मचारीहरुलाई पनि खाइपाइ आएको सुविधा नघट्ने गरी बोर्डमा समाहित गर्ने व्यवस्था गरेपछि सहज वातावरण बनेको हो । दुई दिनअघि कार्तिक ६ गते खानेपानी मन्त्री मगरको अध्यक्षतामा भएको बैठकले २ बुँदे निर्णय गरेको थियो । ‘मन्त्री ज्युको अध्यक्षतामा भएको निर्णय कार्यान्वयनको लागि आज बोर्डले पत्राचर गरेको हो, संस्थानका सम्पुर्ण कर्मचारीहरुलाई दायित्वसहित बोर्डमा हाजिर हुन लेखिएको पत्र बुझाइएको छ,’खानेपानी आयोजना प्रमुख राजु पोखरेलले भने ।

बीचमा तिहार विदा पर्ने भएकोले कार्तिक १४ गतेदेखि कर्मचारीहरुलाई बोर्डमा हाजिर हुन बाटो खुला हुनेछ । त्यसपछि, खानेपानी समस्या नरहने पनि पोखरेलले बताए । ‘उहाँहरुले नै सबै चलाउने हो, तिहार पछि विस्तार भएको ठाउँहरु सबैमा बोर्डले पानी पुर्याउछ,’उनले भने ।