ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुनसरीमा हत्या घटना बढ्दोः खुला सिमाना मुख्य चुनौति” शीर्षकको समाचार छापिएको छ । प्रहरीले सक्रियता बढाएको बताए पनि सुनसरीमा हत्या, कुटपिट, छुरा प्रहार र आक्रमणका घटना भइरहेका छन् । पुराना हत्या घटनामा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । अघिल्लो आर्थिक वर्षमा दुई मुस्लिम अगुवाको हत्यापछि सुनसरी क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको थियो । निगरानीको क्रममा सीमाक्षेत्रमा एक भारतीय नागरिक मुठभेडका क्रममा मारिएका थिए । मुस्लिम अगुवा खुर्सिद आलम अन्सारीको हत्यारा अहिलेसम्म पत्ता लागेको हैन भने फिदा हुसेनको हत्यारालाई भने प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । अघिल्लो वर्ष असोज ४ गते हरिनगर २ भुटाहाका खुर्सिदको हत्या भएको थियो भने मंसिर ३ गते दुहवीका व्यवसायी फिदा हुसेनको हत्या भएको थियो । खुल्ला सिमानाका कारण पनि सुरक्षा थ्रेट बढेको प्रहरी नै बताउँछ । प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा बढी हत्या, लुटपाट, चोरी, बलात्कारजस्ता जघन्या अपराध हुने प्रहरी प्रतिवेदनले देखाएको छ । यता सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले खुल्ला सिमानाका कारण सुनसरीमा केही समस्या भएको बताए ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “त्रिभुवनपथमा ठेकेदारको चरम लापरबाही” शीर्षकको समाचार छापिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको लागतमा बनेको धरान उपमहानगरपालिका २ र ३ स्थित त्रिभुवनपथ निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै कालोपत्रे उप्किन थालेपछि अहिले जताततै खाल्डै खाल्डा बनेको छ । सिंहदेवी चौकदेखि अजुमन इस्लाम मियाँ मस्जिदसम्मको करिब आधा किलोमिटर सो सडकमा ठेकेदारको चरम लापरबाहीका कारण निर्माण सम्पन्न भएको ६ महिना पुर नहुँदै अधिकांश कालोपत्रे उप्किएर सडक खाल्डोमा परिणत भएको हो ।

औजार : आजको औजार दैनिकमा “मदिरा बनाउने कच्चा पदार्थ बरामद” शीर्षकको समाचार छापिएको छ । मोरङमा प्रहरीले ठुलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । इप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङ सुन्दरहरैचा १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ४४५५ नं. को अटोरिक्सा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार ३५० केजी कच्चा पदार्थको मूल्य रु. १ लाख रुपैयाँ रहेको छ । ओसारपसारमा संलग्न मोरङ केराबारी गाउँपालिका वडा नं. १० बस्ने वर्ष २८ को अटोचालक मनबहादुर लिम्बु र सोही ठाउँ बस्ने वर्ष ३५ की कमला लिम्बु रहेका छन् ।