काठमाण्डौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि आज बिहिबार उम्मेदवारी मनोनयन पत्र दर्ता गरिदैछ ।

मंसिर १४ मा प्रतिनिधि सभा सदस्य १ र प्रदेश सभासदस्य ३ पदको लागि उपनिर्वाचन हुदैछ । स्थानीय तहको भने २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम निर्वाचन आयोगले जारी गरेको उपनिर्वाचन कार्यतालिकामा छ । आज बिहीबार १० बजेदेखि १ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने समय तालिका छुट्याएको छ । उम्मेदवारीपत्र दर्तापछि आजै दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभा सदस्यको लागि कास्की २ मा उपनिर्वाचन हुदैछ भने प्रदेश सभाको दाङ ३ (ख), भक्तपुर १ (क) र बाग्लुङ २ (ख) मा उपनिर्वाचन हुदैछ । 

आयोगका अनुसार कार्तिक २२ गते(भोली) बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने कार्तिक २३ गते बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गर्ने, २३ गते दिउँसो अपराह्न ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

यस्तै, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।