धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आज हुने भनिएको ४३ औं सिनेट बैठक अचानक स्थगित भएको छ ।

झण्डै महिना दिनअघिदेखि तयारी गरिएको बैठक मन्त्री यादवले हिजो बिहिबार अन्तिम समयमा आएर स्थगित गरेका हुन् । आजको सिनेट बैठक निकै महत्वपुर्ण थियो । पदाधिकारीबीचको द्धन्दले लथालिङ्ग बनेको प्रतिष्ठानलाई यो बैठकले निकास दिने सबैले गरेको अपेक्षा विपरीत बैठक स्थगित भयो । बैठक स्थगित भएको खबरले प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरु जति निराश छन्, त्यति नै कारण थाह पाउदा आक्रोशित पनि छन् ।

मन्त्री यादवले बैठक स्थगित गर्नुको कारण पनि रोचक र उदेकलाग्दो छ । खासमा प्रतिष्ठानको रिक्त रहेको रजिष्ट्रार पदमा उनले आफ्नो हुनेवाला सम्धीलाई नियुक्ती दिन चाहेका थिए । त्यसको लागि कार्यवाहक उपकुलपति डा.गुरु खनाललाई दबाब पनि दिए । मन्त्री यादवले सिनेट बैठकसँग हुनेवाला सम्धी डा.बिएन यादवको नियुक्ती बार्गेनिङ गरेपछि डा.खनालले जोखिम उठाउन चाहेनन् । कुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सल्लाह गर्ने भनेपछि मन्त्री यादवले सिनेट बैठक नै स्थगित गरिदिए । मन्त्री यादवले रजिष्ट्रार बनाउन खोजेका डा.बिएन यादव हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रेक्टर छन् । उनलाई त्यहाँ पनि मन्त्री यादवकै चाहनामा नियुक्ती गरिएको थियो । डा.यादवको छोरी र मन्त्रीका छोराको विवाह हुने तयारी छ ।

pic-1,Bpkihs-VC-office

बैठक स्थगितको यो रहस्य बाहिरिए पछि अहिले प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुले सामाजिक सञ्जालमा दुःखसँगै आक्रोश व्यक्त गरिरहेका छन् । प्रतिष्ठानका कर्मचारी महेश्वर राईले मन्त्रीका सम्धी रजिष्ट्रार हुन नपाउदा बैठक स्थगित भएको उल्लेख गर्दै यस्तो गम्भीर बिषयमा धराने जनता, नागरिक समाज, सक्रिय संघसंस्था, राजनीतिक दलहरुको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । 'अन्यथा भोली कसैलाई दोष दिएर उम्कने ठाउँ र समय तपाई हामीसँग नहुन सक्छ,' उनले फेसबुकमा लेखेका छन् ।

प्रतिष्ठानका एक सिनेट सदस्यले पनि मन्त्री यादवको नाजायज स्वार्थ पुरा नहुदा बैठक स्थगित हुन पुगेको बताए । सिनेट बैठक अघि अचानक रजिष्ट्रार नियुक्तीको कुरा कसरी आयो ? ती सिनेट सदस्य भन्छन्,'मन्त्रीले हुलमुलमा रजिष्ट्रार नियुक्ती दिन खोजेका हुन् ।' प्रतिष्ठानका उपकुलपति डा.गुरु खनालले भने बैठकमा रजिष्ट्रार पनि आवश्यक हुने भन्ने कानुनी उल्झन भएकोले बैठक स्थगित भएको बताए । उनले मन्त्री यादवको बचाउ गर्दै रजिष्ट्रार नियुक्तीबारे सल्लाह भए पनि कसलाई बनाउने भनेर मन्त्रीले दबाब नदिएको दाबी गरे । ‘रजिष्ट्रार छैन, र कानुनी समस्या हो कि भन्ने भएर बैठक रोकिएको हो । नियुक्तीबारे सल्लाह हुदैछ,’उनले भने । यो बिषयमा प्रतिक्रिया लिन मोवाइल सम्पर्क गर्दा मन्त्री यादवको मोवाइल स्वीच अफ थियो ।