धरान: समाजवादी पार्टीबाट मेयरका उम्मेदवार गजेन्द्र इस्बोले तत्कालिन समयमा पार्टीहरुको सेटिङले गर्दा धरानको प्रमुख खानेपानी समस्या अहिले अलपत्र भएको बताएका छन् ।

धरान १५ त्रिवेणी चोकमा आयोजित कोणसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार इस्वोले गोर्खा भुपुहरुले सैनिक भवनमा खानेपानीको लालगि सुझाव बैठक गरेको र भुमीगत पानीको विकल्पमा सप्तकोशीबाट पानी ल्याउन सुझाव पनि दिएको बताए । तर, राजनीतिक दलहरुले सेटिङ गरेर एडिबिको ऋण सहयोगमा खानेपानी आयोजना सुचारु गरेर अहिले अलपत्र पारेको उनले आरोप लगाए ।

सप्तकोशीको पानी ल्याउदा हालको बजेटले धरानमा खानेपानी ल्याएर पनि सेउती सर्दुमा तटबन्धको लागि समेत पुग्ने विज्ञहरुसँगको परामर्शबाट खुलेको उनले बताए । तत्कालिन एमालेको सेटिङ कै कारण चारकोसे जंगलबाट पानी निकाल्ने भएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको उम्मेदवार इस्वोको आरोप थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै हरि राईले धरानका उपभोक्ताहरुले ९० प्रतिशत पैसा उठाएर सहभागितामा बनाउने सडक, ड्रेनलाई कम्युनिष्ट सरकारले बनाएको भनेको सुन्दा लाज लागेको बताए । जनतालाई दोहोरो कर थोपरेर नेकपा सरकारले जनतालाई नै भ्रम छरिरहेको उनले बताए । याम्फु स्वायत्त क्षेत्रका अभियन्ता नन्दा याम्फुले धरानमा ऐतिहासिक दरबार क्षेत्रमा पानीट्याङ्की बनाउन हुन्न भन्दा तत्कालिन एमालेका मेयरले लाठी बर्षाएको भन्दै इतिहासको अवमुल्यन गर्ने पार्टीलाई हराउन आह्वान गरे ।

२५ जना पार्टी प्रवेश

samajbadi 3

नेकपा र काङ्ग्रेसमा आस्था राख्ने २५ जना समाजवादी पार्टीमा प्रवेश गरेका छन्। नब प्रवेश गर्नेहरूलाई उम्मेदवार गजेन्द्र इस्वो, केन्द्रिय सदस्य भिम राईले फुलमाला अबिरले स्वागत गरि पार्टी प्रवेश गराए।