धरान: धरान ९ पुतलीलाइनस्थित एक रेष्टुरेष्टमा नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने धरानका ४ किसोरहरु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले हिजो सोमबार राती पौने ८ बजे पुतलीलाइनस्थित फ्रेण्डस् गार्डन रेष्टुरेण्टबाट नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान १५ का २० बर्षीय मनिक चोङवाङ, १९ बर्षीय रोजन लिम्बु, २० बर्षीय बिशाल लिम्बु र धरान १७ का ३३ बर्षीय काजी राई पक्राउ परेका छन् । उनीहरुले रेष्टुरेष्टको टेबलमा पेस्तोल जस्तो सामान राखेर मादकपदार्थ पनि सेवन गरी हो हल्ला गर्न थालेपछि प्रहरीमा खबर पुगेको थियो ।

घटनाबारे खबर आएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुले नक्कली पेस्तोल राखी सर्वसाधारणलाई आंतकित तुल्याएको भेटिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिई अभद्र ब्यवाहार मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।