धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ६ महिनादेखि नियमित जाँच गराइरहेकी धनकुटाको साँगुरीगढी गाउँपालिका २ की २८ बर्षीय गर्भवती मनिषा लिम्बूलाई डाक्टरले कार्तिक २३ गते डेलिभरीको समय दिएका थिए । उक्त मितिमा पनि व्यथाले नच्यापेपछि डाक्टरकै सल्लाह अनुसार ३० गते बिपी प्रतिष्ठानस्थित प्रसुती विभागको वार्डमा आफन्तजनले ल्याए ।

डाक्टरहरुको प्रत्यक्ष रेखदेखमा राम्रो सुत्केरी होला भन्ने आशामा आएका मनिषाका परिवारजन यतिबेला असह्य पीडामा छन् । आइतबार साँझ अचानक मनिषाको लेवर रुममा नपुगिनै वेडमा मृत्यु भयो । गर्भमा भएको बच्चाले संसार देख्नै पाएनन् । समयमा नै डाक्टर र नर्सले ख्याल नगरिदिदा मनिषाको मृत्यु भएको उनकी फुपू सासु मेनुका लिम्बूले आरोप लगाइन् । उनका अनुसार आइतबार बिहान व्यथा लाग्ने औषधी मनिषालाई दिइएको थियो । विस्तारै व्यथाले च्याप्दै लगेर ५ घरसम्म खुल्दा मनिषा छटपटिएकी थिइन् । आफुहरुले लेबर रुममा लैजान आग्रह गर्दा पनि नर्सले बेड छैन भन्दै वार्डमा नै राख्न लगाएका थिए ।

पाठेघरको ६ घर खुलेपछि मनिषाले असाध्यै पीडा भएको बताएपछि पुनः नर्सलाई लेबर रुममा लैजान आग्रह गर्दा झर्कदै कराएको फुपु मनिकाले बताइन् । उनले भनिन्,‘६ घर खुलेपछि असाध्यै व्यथाले च्याप्यो । हामीले लेवररुममा लैजानुस् न भन्यौ । नर्सले उल्टै झर्कदै दोस्रो चोटी आमा बन्न लागेकये हो, केही हुदैन । एकछिन पर्खनुस् भन्यो ।’ ६ घर खुलेपछि व्यथाले च्यापेर गर्मी भयो भन्दै मनिषा बेडबाट उठेर चिसो भुईमा बसेकी थिइन् । लगत्तै उनले आँखा चिम्लिएको फुपु सासु मनिकाले बताइन् । ‘गर्मी भयो, उठ्छु भन्यो । हामीले नउठ भन्दाभन्दै उठेर भुईमा बसेको थियो, आखा चिम्लिहाल्यो,’उनले भनिन्,‘हामीले नै उठाएर बेडमा राख्यौं, कराउन थाल्यौ । अनिमात्र डाक्टर, नर्स आएर दबाई दिन थाल्यो । मेशिन ल्याएर के के जाँच गर्न थाल्यो ।’

नियमित चेकजाँच गराएको विरामीको अवस्थाबारे डाक्टरहरु जानकार हुनुपर्ने तर लापरवाही गरेर विरामीको मृत्यु भएको मृतक मनिषाकी काका ससुरा निरदेश लिम्बूले बताए । ‘अस्पतालमा हामी ज्यान जोगाउन आउने हो, राम्रो हेरविचार र उपचार हुन्छ कि भनेर आउने हो, तर यहाँ त विरामीको ज्यानै जाने काम भयो,’उनले भने,‘समयमा नै उपचार नगर्ने र लापरवाही गर्ने नर्स, डाक्टरलाई कारबाही होस् ।’ समयमा नै लेवर रुम नलैजाने र उपचार नगर्ने डाक्टर, नर्सहरुले मनिषाको मृत्यु भएपछि भने फायल कब्जा गरेर डेढ दुई घण्टा पछि मात्र दिएको परिवारजनको भनाई । उनीहरुले फाइल लगेर आफु अनुकुल रिपोर्ट बनाएको पनि काका ससुर निरदेशले बताए ।

शव बुझेनन्, दोस्रो चरणको वार्ता जारी

लापरवाहीले गर्भमा भएको बच्चासहित आमाको मृत्यु भएको भन्दै पीडित परिवारले अझैसम्म पनि शव बुझेका छैनन् । कतारमा रहेका मृतकका श्रीमान् विनेन्द्र लिम्बू फर्किएर आइसकेका छन् । गाउँबाट मृतकका आफन्तजन, छिमेकीहरु ठुलो संंख्यामा बिपीमा जम्मा भएका छन् ।

घटनाबारे आज सोमबार बिहान पीडित परिवार र अस्पताल प्रशासनबीच पहिलो चरणको वार्ता भएको थियो । ठोस निष्कर्षमा नपुगेपछि २ बजेदेखि दोस्रो चरणको वार्ता भइरहेको छ । अस्पतालले मृतक परिवारलाई दिएको मृत्यु प्रमाणपत्रमा एम्नियोटिक फ्लुइड इम्बोलिज्म सक भएर मृत्यु भएको उल्लेख गरेको छ । अस्पताल निर्देशक डा। गौरीशंकर साहले लापरवाही नभएको दाबी गर्दै पीडित पक्षको गुनासोबारे वार्ता भइरहेको बताए ।