धरान: धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा आइतबार रातको १० बजे नमस्ते धरान भन्दै स्टेजमा द एज ब्यान्ड आए ।

घण्टौं प्रतिक्षामा बसेका धराने युवायुवतीहरुले ताली र हुटिङ्ग गर्दै ब्याण्डको स्वागत गरे । स्टेजमा आए लगत्तै कसरी कहाँ लुकाउ गीत गाउन थालेपछि एज ब्यान्डलाई दर्शकहरूले पनि साथ दिइहाले । किरातीहरूको नयाँ वर्ष ५०८० को अवसर पारेर ब्लिङ्क इभेन्ट म्यानेजमेन्टले तेश्रो यले साँझ २०७६ आयोजना गरेको थियो । कन्सर्टमा २५ सय बढी दर्शकहरु सहभागी थिए ।

अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई सहयोगको आयोजना गरिएको कन्सर्टमा एज ब्याण्डले झण्डै एक घण्टासम्म निरन्तर गीत गाए । हरेक गीतमा धराने फ्यानहरुले ब्याण्डलाई साथ दिएका थिए । चार वर्षको अन्तरालमा धरान आएको एजले लेखिएका शब्द, थाहा छैन, सम्झिने मुटु, नचाहेको होइन तिमीलाई लगायतका आफ्नो चर्चित आधा दर्जनभन्दा बढी गीत गाएको थियो । दर्शकहरूले पनि हरेक गीतमा वान्स मोर भन्दै आग्रह गरेका थिए ।

IMG_5272

एज ब्याण्ड अघि स्ट्यान्ड अप कमेडियन सुजन जिम्बाले झण्डै आधा घण्टा दर्शक हसाँएका थिए । जिम्बाले नेपालको वर्तमान अवस्था र धरानका विषयमा व्यङ्ग्य प्रहार गरे । कार्यक्रममा जनगायक किशोर थुलुङ र द फ्लो ब्यान्ड नेपालको समेत प्रस्तुती थियो । स्थानिय कलाकारहरूमा नवकलाकार अमृत मोक्तानले र्याप, शिव तामाङले कभर गीत र द ओल्ड वे ब्याण्डले गीत गाएका थिए । हाम्रो डान्स एकेडमी र बि लिङ्क क्रुले बिबोइङ प्रस्तुत गरेको थियो ।

कार्यक्रममा अर्को आर्कषणको रूपमा केन्ट फ्लेर एकेडमीको समुहले प्रस्तुत गरेको फ्लेर बारटेन्डिङ रहेको थियो । बारमा ड्रिङ्कस तयार गर्दा आर्कषणका लागी गिलास र बोटललाई जग्लिङ् गर्ने र आगो बालेर समेत जग्लिङ् गर्ने कलालाई एकेडमिले प्रस्तुत गरेका थिए । कार्यक्रम संविधान सभा सदस्य माननिय किरण राईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको आयोजक समुहमा ब्लिङ्का अध्यक्ष अमित दुमी राई, व्यवस्थापक निशान श्रेष्ठ, मिडिया संयोजक विकाश चाम्लिङ राई, सदस्य सुमिन आचार्जु, प्रदेश राई, सुमन राई, ओपेश राई, शिव तामाङ, अनिश बराइली रहेका छन ।

तस्विरः बिकास चाम्लिङ राई

IMG_5335 IMG_5290 IMG_5304 IMG_5403