धरान(डेस्क): सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुख पदमा उम्मेदवार तय गरेपछि उपसभामुख शिवमाया डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिएकी छिन् ।

प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै तुम्बाहाम्फेले पदबाट राजिनामा दिएकी हुन् । राजिनामा पश्चात पत्रकार सम्मेलन गर्दै उनले आफु संविधानको निर्देशन अनुसार हिडेको दाबी गर्दै बोलेको कुरा पुरा गरेको बताइन् । नेकपाले उपसभामुख पदबाट राजिनामा गर्न दिएको निर्देशन नमानेको भन्दै आलोचना पनि खेपिरहदा उनले सत्तारुढ पार्टीले सभामुख उम्मेदवार तय गरेपछि मात्र राजिनामा दिने अडान लिएकी थिइन् । हिजो मात्र नेकपाले सभामुखमा अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो । ‘मैले बोलेको कुरा पुरा गरे, जब सरकार पक्षले सभामुखको उम्मेदवार तयार गरेर सन्देश मसम्म आइपुग्छ, तबमार्ग प्रशस्त गर्छु भनेको थिएँ । मैले आज पुरा गरे,’उनले भनिन् ।

पार्टीले दिएको निर्देशनप्रति संकेत गर्दै उनले नेताले बोलको आधारमा होइन, संविधानले बोलेको आधारमा आज राजिनामा बुझाएको बताए । पार्टीले नै आफुलाई यो स्थानमा पुर्याएको तथ्य नभुलेको उल्लेख गर्दै उनले नेकपाको निर्देशन अनुसार राजिनामा दिदा इतिहासमा नेपाली जनताले औला ठड्याउने भएकोले आफुले अडान लिएको बताइन् । ‘प्रतिनिधिसभा संवैधानिक संस्था हो, र नेतृत्वविहिन बनाउन हुदैन थियो, संविधानले नेतृत्वविहिन परिकल्पना गरेको छैन,’उनले भनिन्,‘नेतृत्वविहिन वनाउन हुन्न भनेर मैले संविधानको निर्देश अनुसार काम गरे । संस्थालाई प्रणालीगतरुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता थियो । मैले त्यो गरे । म दलको उपसभामुख होइन, प्रतिनिधिसभाको हो । त्यसैले मैले दलको निर्देशन मानिन । तर, मलाई यो ठाउँमा दलले नै पुर्याएको हो, त्यो पनि मैले भुलेको छैन ।’

संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते सभामुख कृष्णबहादुर मगराले राजिनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुख विहिन अवस्थामा छ । आफुले असहज परिस्थितिमा पनि संविधानले दिएको निर्देशन अनुसार काम गरेको तुम्बाहाम्फेले बताइन् । व्यक्ति एउटा पदमा सधै बसिरहनुपर्छ भन्ने मान्यता आफ्नो नभएको धारणा राख्दै उनले भनिन्,‘विगतमा राजनीति गर्दा पनि एक, दुई भन्दा बढी कार्यकाल पदमा बसिन । मेरो ५ बर्षको समय थियो, तर बिशेष परिस्थितिले २ बर्ष मात्र हुन गयो । एउटै चिज र बिषयमा मैले ५ बर्ष बस्न परेन, यसमा खुशी छु । मैले राजिनामा दिइसके, कामको ट्रयाक परिवर्तन गर्दैछुँ । आजको दिनदेखि मैले यु टर्न लिएको छुँ ।’