धरान: पाँचौ पानवारी भलिबल कपमा बाझगरा भलिबल क्लब र सुन्दरहरैचा नगरपालिकाको टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान–६ स्थित सिमल चौरी खेल मैदानमा भएको खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै सुन्दरहरैचा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१९ ले जितेको सुन्दर हरैचाले दोस्रो सेट २५–१७ ले जितेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टिमका अनिस बस्नेत घोषित हुँदै नगद २५ सय हात पारे ।

बुधबार नै अर्काे खेलमा धनकुटालाई सोझो सेटमा पराजित गर्दै बाझगरा युवा भलिबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ । बाझगराले २५–१७ र २५–१९ ले दुवै सेट आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच बाझगराका मिलन खत्री घोषित भए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
त्यसअघि भएको पहिलो खेलमा फुङनाम स्पोर्टिङ क्लब इलामालाई सोझो सेटमा सुन्दर हरैचाले पराजित गरेको थियो । सुन्दर हरैचाले इलामलाई २५–१३ र २५–१४ को अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच सुन्दरहरैचाका योगेन्द्र गुरुङ घोषित भए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

बिहीबार पहिलो सेमिफाइनल तरहराको जयमहादेव भलिबल क्लब र बाझगरा युवा क्लब बिच हुने र दोस्रो सेमिफाइनल खेल एक नं. प्रदेश प्रहरी रानी र सुन्दरहरैचा नगरपालिका बीच हुने आयोजक सयपत्री बोइज युनियन क्लबका उपाध्यक्ष विश्वजित राईले बताए । प्रतियोगिताको फाइनल खेल माघ ११ मा हुनेछ भने प्रतियोगिताको विजेताले ७५ हजार नगद र ३५ तोला चाँदीको रनिङ ट्रफि जित्नेछ । त्यस्तै उपविजेतालाई नगद रु ४२ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत उत्कृष्टलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।