ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा गोर्खाविहीन बन्दै धरान शीर्षकको समाचार छापिएको छ । तीनसाता अघिपूर्व ब्रिटिस गोरखाहरुले धरानमा गोर्खा सत्याग्रह आन्दोलनबारे जानकारी दिन भेला आयोजना गरे । तर मुस्किलले करिब ७० जना जतिमात्र भेला भए । भेला भएका अधिकांश पूर्व गोर्खाको उमेर ७० वर्षमाथि थियो । जो बेलायत जान मन नगरेका वा गएर पनि फर्केका वृद्धहरुमात्र थिए । गोर्खा एकता समाजका अध्यक्ष समेत रहेका गोर्खा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष गजेन्द्र इस्वोले भने, ‘अचेल त भूपु गोर्खा साथीहरु भेला हुन पनि गाह्रो भएको छ । अधिकांश साथीहरु धरान छाडेर बेलायततिर पलायन भएकाले कुनै भेला गर्नुपर्यो भने पहिलेको जस्तो संख्या देखिन्न ।’ यसको अर्थ धरानलाई आफ्नो स्वर्गभूमि बनाएर बसेका पूर्व गोर्खा समुदायमध्ये बेलायत पलायन हुन चाहनेहरुको संख्या बढेको संकेत हो । दुई दशकअघि धरानको शैनिक भवनमा पूर्व गोर्खाहरुले कुनै कार्यक्रम आयोजना गर्दा एकसाथ कम्तीमा सात सय देखि हजार जनाले उतसाहपूर्ण सहभागिता जनाउँथे । बेलायतले आवासीय अधिकार दिएपछि धरान विस्तारै ब्रिटिस गोर्खा लाहुरेविहीन हुँदै गएको छ ।

blast

आजकै ब्लाष्टमा जेसिभी र टिपर नियन्त्रणमा शीर्षकको समाचार पनि छापिएको छ । सरकारी जमिनमा बिना स्वीकृति माटो खन्दै गरेको अवस्थामा प्रहरीले एउटा जेसिभी र तीन वटा टिपर नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका ५ स्थित गणेश मन्दिर पूर्व नगरपालिकाको ऐलानी अर्थात सरकारी जमिनमा जेसिभी प्रयोग गरी माटो खनी टिपरमा हालेर लैजादै गरेको अवस्थामा वडा प्रहरी कार्यालय र भद्रपुर नगर प्रहरी कार्यालय र भद्रपुर नगर प्रहरीको संयुक्त टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो । प्रहरीले को १ क २१३३ नम्बरको जेसिभी, ना १ ख ९४१०, ना १ क ७३७४ र ना १ क ९४११ नम्बरको टिपर नियन्त्रणमा लिएको वडाका इन्सपेक्टर डम्बर पुरीले जानकारी दिए । शनिबार राती ८ बजेको समयमा ठेकेदारले जेसिभी प्रयोग गरी टिपरमा हालेर सरकारी जमिनको माटो जथाभावी लगिरहेको स्थानीयले थाहा पाएपछि तत्काल भद्रपुर नगरपालिकालाई खबर गरेका थिए । नगरपालिकालाई सुचना आएपछि नगर प्रहरीले वडा प्रहरीसँग समन्वय गरेर घटनास्थल पुगेर ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा मन्दिरको मूर्ति चोर्ने पक्राउ शीर्षकको समाचार छापिएको छ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको संसारी माईस्थान मन्दिरमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुली रहेका छन् । मन्दिरबाट चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति लगायतका सामान चोरी गरेको आरोपमा पराजुली पक्राउ परेका हुन् । प्रहरीका अनुसार पराजुलीले माघ २२ गते राति मन्दिरको कम्पाउण्ड नाघेर करिब ११ लाख ३५ हजार मूल्य बराबरको मूर्ति लगायतका सामग्री चोरी गरेका थिए । मन्दिरको मूर्ति लगायतका सामग्री चोरी भएको सूचना पाएलगत्तै अनुसन्धान अघि बढाउने क्रममा मन्दिरमा जडित सीसी क्यामेरा फुटेजको सहयोगमा पराजुलीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पराजुलीले ज १२ प ५४६८ नम्बरको मोटरसाइकल प्रयोग गरेर मन्दिरमा चोरी गरेको तथ्य सीसी क्यामेराको फुटेजले देखाएको उनले बताए । पराजुलीले घरको आगनमा उक्त मोटरसाइकल पार्किङ गरी राखेको पाइएपछि प्रहरीले उनको घरको कोठाको खानतलासी गरेको थियो । पराजुलीले आफू सुत्ने कोठाको लो बेडमुनि लुकाएर राखेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानहरु बरामद भएको राईले बताए ।