धरान : धरानमा जारी ‘प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला’ को तेस्रो दिनसम्म करिब २५ लाखको कारोबार भएको छ ।

फ्लोरिकल्चर एशोसिएन नेपाल सुनसरीको आयोजनामा गत बुधबारदेखी सुरु भएको पुष्प मेलामा शुक्रबार तेस्रो दिनसम्म २५ लाखको कारोबार भएको हो । ‘आज तेस्रो दिनसम्म आइपुग्दा करिब २५ लाखको कारोबार भयो’ एशोसिएसनका अध्यक्ष खगेन्द्र पाखे्रलले भने, ‘सोचे भन्दा राम्रो कारोबार भइरहेको छ भने मेला घुम्न आउनेको संख्या पनि राम्रो छ ।’
हालसम्म करिब ३० हजारले प्रत्यक्ष अवलोकन गरेको पोख्रेलको भनाई छ । झापा, मोरङ, उदयपुरदेखी काठमाडौंसम्मका मानिसहरु पुष्प मेला अवलोनकन गर्न आएको आयोजकले जनाएको छ । पोख्रेलले भने, ‘काठमाडौंबाट पनि मेला घुम्न आउनुभएको छ ।’

flower-mela

मौसमी फुल, आर्किड, लालुपातेलगायत प्रजातीको फूल ग्राहकको मुख्य रोजाइमा परेको व्यापारीहरुले बताएका छन् । मेलामा करिब ५ सय बढी प्रजातीका फुल तथा बोट विरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । मेलामा ५२ वटा स्टलहरु राखिएका छन् । मेलामा मुख्य आकर्षणको रुपमा मोरङको पथरीमा उत्पादन गरिएको ‘सेरामिक गमला’ बिक्री कक्ष राखिएको छ । यस पटक फूल प्रेमिहरुलाई ड्रागन फुड्सको स्वाद चखाइन्दैछ । मेलामा झापा, मोरङ, सुनसरी, उदयपुरसम्मका पुष्प व्यावसायिहरुले स्टल राखेका छन् । मेला अवधिभर करिब ६० लाखको कारोबार गर्ने र ५५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । फागुन ४ गते (पाँच दिन)सम्म सञ्चालन हुने पुष्प मेलाको उद्घाटन प्रदेश १ का भुमी व्यावस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए ।