औजार : आजको औजार दैनिकमा खानेपानी संस्थानलाई बोर्डमा ल्याइने शीर्षकको समाचार छापिएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म भएको धरान उपमहानगरपालिकाको छैठौ नगरसभाले खानेपानी संस्थानको धरान शाखालाई धरान खानेपानी बोर्डमा ल्याउने र वडामा खर्च हुन नसकेका बजेटलाई रकमान्तर गर्ने लगायतको निर्णय गरेको छ । शुक्रबार धरान उपमहानगरपालिकाको नगरसभामा एजेण्डामा नै नपरेको खानेपानीको विषयलाई वडा नं. ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले खानेपानीको एजेण्डा ल्याउन माग गर्दै सभा अवरोध गरेपछि खानेपानी व्यवस्थापन समन्वय समिति समेत बनाइएको छ । १५ नं. वडाका वडाध्यक्ष नरेशकुमार इवारमको संयोजकत्वमा समिति गठन भएको छ । समितिले फागुन मसान्त भित्र सबै समस्या हल गर्ने भनी समय सिमा राखिएको प्रवक्ता मणिराम राईले बताए । नगरसभाले कर्मचारी सेवा सम्बन्धी ऐन २०६७ लाई पास गरेको छ । कर्मचारीको स्तरवृद्धि, बढुवा, सरुवा लगायतको व्यवस्था हुने र प्रदेशले बनाउने लोकसेवा आयोगमा समेत मिलान हुने गरिको ऐन ल्याइएको प्रवक्ता मणिराम राईले बताए । नगरसभाले विभिन्न उपमहानगरभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्नका लागि महाशाखालाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै खर्च हुन नसकेका विभिन्न वडाका बजेटलाई रकमान्तर गर्ने निर्णय समेत नगरसभाले गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स ‘प्रदेश १ सरकारले लय समात्न सकेन’ शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघीयता कार्यान्वयनको चरणमा भएको कारणले गर्दा पनि यो दुई वर्षमा सरकारले कामको लय समात्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारले दुई वर्ष अलमलमै बितेको उनले बताए । ‘प्रदेश सरकारले अहिलेसम्म मन्त्री छान्न नसकेर राज्यमन्त्री नियुक्त गरेको छ’ उनले भने, ‘सरकारले लय समात्न पनि समस्या देखिन्छ । सरकार हाकिरहेका मन्त्रीहरु सिक्दैछौं भन्नुहुन्छ ।’ प्रदेश सरकारको सय दिने कार्यक्रम पनि घोषणामा मात्र सीमित भएको उनले बताए । ‘घर घरमा स्टिकर टास्दैमा सुरक्षा अनुभुती हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘त्यसरी टाँसेको स्टिकर कति घरमा अडिएका छन् ?’ त्यस्तै समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार जनताको अपेक्षा र भावनाअनुसार चल्न नसकेको बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा कोशीटप्पुमा हात्तीसारको विरोध शीर्षकको समाचार छापिएको छ । बराहक्षेत्रको कोशी कटान क्षेत्र स्थित श्रीलंका टप्पुमा कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यालयले हात्तीसार बनाउन थालेपछि हात्तीसार निर्माणको कार्य रोक्नुपर्ने माग टाप्पुबासीको रहेका छन् । टाप्पुमा हात्तिहरु ल्याएर राख्न थालेपछि फिरन्ते जंगली हात्तीले बस्तीनै उजाड्ने र अन्नबाली खाइदिए दुःख दिने भएकाले टप्पुमा हात्तीसारको उनीहरुले विरोध गरेका हुन् । टप्पुबासीले आरक्ष कार्यालयलाई पटकपटक हात्तीसार नबनाउन अनुरोध गरेको स्थानीयबासीहरु बताउँछन् । स्थानियबासीको सुरक्षा जोखिमलाई उपेक्षा गरी हात्तीलाई प्राथमिकता दिएकोमा उनीहरु आक्रोशित छन् । स्थानिय अर्जुन चन्द्रबंशीले प्रश्न गर्दै भने, ‘टप्पुमा बसोबास गर्नेहरुको सुरक्षालाई लत्याएर हात्तिसार बनाए जंगलि हात्ति आएर गर्ने आक्रमणमा मानिस, बालीनाली क्षति गरे कस्ले जिम्मा लिने ?’ उनका अनुसार टप्पुबासीले आरक्ष कार्यालयको वार्डेन रामदेव चौधरी सँग पटकपटक हात्तिसारयहाँबाट सार्न लिखित र मौखिक बताए ।