धरान : शुक्रबार र शनिबार बसेको धरान उपमहानगरपालिकाको छैटौ नगरसभाले धरानमा रहेको खानेपानीको समस्या समाधान फागुनभित्रै गर्ने निर्णय गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बसेको नगरसभाले धरानमा बर्षेनी समस्या हुदै आएको खानेपानी समस्या समाधान फागुन मसान्तभित्र नेपाल खानेपानी संस्थानलाई उपमहानगरपालिकाको खानेपानी बोर्डमा गाभ्ने निर्णय गरेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । खानेपानी बोर्डमा गाभिएपछि खानेपानीको समस्या समाधान हुने नगरसभाले जनाएको छ ।

नगरप्रमुख तिलक राईले आज पत्रकार सम्मेलनमार्फत नगरसभाले गरेको निर्णय प्रस्तुत गर्दै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि खानेपानी संस्थालाई बोर्डमातहत ल्याई समस्या समाधान गर्ने बताए । नगरप्रमुख राईले बजेट अभावका कारण धरान उपमहानगरपालिकाको गौरवका योजनाहरु अलपत्र परेको बताए । उनले चालु आर्थिक बर्षमा नगरको गौरवमा परेको योजनाहरु धरान ३ को जल्पा रोड, धरान १६ को जनपथ र धरान १५ कोआडा सडकलाई पूर्णता दिने बताए । यसका लागि प्रदेश सरकारले ३ करोड ५७ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमुख राईले बताए ।

उपमहानगरपालिकाले विनियोजन गरेको ऐन २०७६ का अनुसूचिहरुमा केही संसोधन गरेको जनाएको छ । धरानको तीनकुने सुन्दरबस्ती जग्गा एकीकरण आयोजनाका समस्या समाधान प्रक्रिया अगाडि बढाउने, नगर क्षेत्रका सडक मर्मतको लागि दीगो संयन्त्रको विकास गरी व्यवस्थापन गर्ने, धरान उपमहानगरपालिकाको सेवा सम्बन्धि ऐनको निर्माण गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।