दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आशीर्वाद रहेसम्म वर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । आइतबार झापाको दमक आएका प्रम ओलीले दमकको बेलडाँगीस्थित खेलमैदानमा आयोजित सभामा यस्तो बताएका हुन् ।

‘यतिबेला सरकारले देशी-विदेशी प्रतिक्रियावादी र जनविरोधीह ? सँग लड्नु परिरहेको छ । पूर्ण बहुमत भए पनि फर्की फर्की सरकारलाई असफल पार्न उनीहरु लागिपरेका छन्,’ प्रम ओलीले आफूले त्यसविरुद्ध सङ्घर्ष गर्नु परिरहेको खुलासा गर्दै भने, ‘तर ४६ वर्ष भयो प्रतिक्रियावादीहरु विरुद्ध लडेको, त्यसैले अब कसैले रोक्न र छेक्न सक्दैन । सरकार विकासको बाटोमा अघि बढ्छ बढ्छ ।’

प्रधानमन्त्री ओलीले विगतमा ५ वर्षसम्म निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध सङ्घर्ष गरेको इतिहास आफूहरुसँग रहेको स्मरण गराउँदै अस्वस्थताका बाबजुद राजनीतिक स्थिरता र दिगो विकासका लागि आफू निरन्तर लागिरहेको बताए । देशमा सुशासन कायम गर्न आफू सधैँ लागिरहेको र भ्रष्टाचारका विरुद्ध अझै लागिपर्ने तथा त्यसमा सफलता हासिल हुने दृढता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देश समृद्धिको दिशामा अघि बढेको बताउँदै अब राजनीतिक परिवर्तनका लागि लडनुपर्ने दिन गएको बताए । सामाजिक न्याय र समानतासहितको समृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढेको प्रष्ट पार्दै उनले भने, ‘सबै जनतामा समृद्धि हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले दक्षिण एसियामा पहिलोपटक विद्युत् उत्पादन गरेर वितरण गर्ने नेपाल पहिलो देश भए पनि त्यसपछि एक सय वर्षसम्म पाँच सय मेगावाट बिजुली मात्र उत्पादन हुनु दुःखद भएको बताए । उनले नेकपाले दुई वर्ष सरकार चलाउँदा एक हजार मेगावाट बिजुली उत्पादन गरेको बताउँदै उनले देशमा विकासको रफ्तार बढेकोमा सन्तोष मान्नुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले देशमा अराजकता र मनपरितन्त्र बढेको प्रति सङ्केत गर्दै आफ्नो अधिकार उपभोग गर्दा अर्काको अधिकार हनन् नहुने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘देशमा छाडातन्त्र होइन, लोकतन्त्र आएको छ । लोकतन्त्र भनेको कसैको मनपरी तन्त्र होइन ।’

प्रधानमन्त्री ओलीले ‘सानालाई ऐन र ठूलालाई चैन’ भन्ने पुरानो उक्ति अब कामयावी नहुने प्रष्ट पारे । बरm त्यसको अर्को रुपमा सबैलाई सामान ऐन र समान चैन भन्ने मान्यतामा आफू अडिग रहेको उनले बताए । अब कसैले भोको पेट र नाङ्गो आङ बस्नुनपर्ने बताउँदै सडकमा हुने बेसहारा, अस्वस्थ र गरिबहरुलाई सरकारले उद्धार गर्दै तिनीहरु घरविहीन भए घर र भूमिहीन भए बसोबासका लागि भूमि उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले ८८ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच पुगेको, दुई वर्षमा तीन हजार किलोमिटर सडक कालोपत्रे भएको, बेरोजगारको दरमा कमी आएको, भ्रष्टाचारीमाथि छानबिन र कारवाही हुन थालेको, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने र जालसाज गरेर त्यस्तो जमिन आफ्नो हातमा पार्नेमाथि कारबाही हुन थालेको तथा संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार तयार भएको बताए ।

सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र मुख्यमन्त्री शेरधन राईले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्यलगायत स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि उपस्थित थिए । कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीप राईले राखेका थिए ।

कतै उद्घाटन, कतै शिलान्यास

pm-news

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन कतै उद्घाटन त कतै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले सुरुमा दमक ४ को कृष्णमन्दिरमा निर्माण सम्पन्न भइसकेको कृष्णमन्दिर-बेलडाँगी सडकको रिबन काटेर उद्घाटन गरे । सो सडक ६ किलोमिटर लम्बाइको रहेको र त्यसको लागत ४ करोड १६ लाख २२ हजार रहेको सडक डिभिजन कार्यालय दमकले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले त्यसपछि दमक र मोरङको मिक्लाजुङ जोड्ने नवनिर्मित मावा पुलको पनि उद्घाटन गरे । सो पुल २५ मिटर लामो रहेको र त्यसको निर्माण खर्च ३ करोड २२ लाख रहेको बताइएको छ । त्यसपछि लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको झापा, इलाम र पाँचथर जोड्ने दमक-रवि-चिसापानी सडकको शिलान्यास गरे । सो सडक अबको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकदार कम्पनीसँग सम्झौता गरिएको छ ।

यसैगरी, प्रम ओलीले बेलडाँगी खेलमैदानकै कार्यक्रममा दमक १ को विपन्न नमुना बस्तीमा बनाइएका घरहरुमध्येकी एकमाया भुजेललाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरे भने बाँकी घरका चाबी दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी गराए ।