काठमाडौँ : सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गर्न सरकारसँग आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत वर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यही फागुन २० गते सकिने भएपछि सो पदमा नेकपाले उपाध्यक्ष गौतमलाई अघि सारेको हो ।५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात् १९ जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । १८ जना भने गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभामा पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सोही निर्वाचनबाट राष्ट्रिय सभा सदस्य चुनिसकेको छ ।प्रतिनिधिसभामा पराजित गौतमले राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म सदस्य नबन्ने अडान लिँदै आउनुभएको थियो । सोही अडानका कारण गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचन नलडेका गौतम अन्ततस् राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने कोटाबाट संसद छिर्न भने तयार हुनु भएको हो ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दै सिफारिसका लागि सरकारलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।नेकपाले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने स्पष्ट पारेको छ । संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने भएकाले अहिले नै कार्यदल बनाउन नपर्ने निष्कर्ष बैठकले निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।