मुम्बई : भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी र अर्ध सैनिक बलले गस्ती बढाएपनि सरकारको विरोधमा भएका प्रदर्शनहरु जारी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन आग्रह गरेपनि प्रदर्शनहरु रोकिएका छ्रैनन् ।
जारी हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् । विपक्ष दल काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले सरकारले सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छिन् ।

नागरिकता संशोधन ऐन (सीएए) ले केही छिमेकी मुस्लिम बाहुल्य रहका देशहरुबाट गैर मुस्लिमलाई भारतीय नागरिकता लिन सहज बनाएको छ । नागरिकता सम्बन्धी नयाँ प्रावधानको विरोधमा विरोध प्रदर्शन भएको हो ।

आलोचकहरुले भने नयाँ कानुनी व्यवस्थाले मुस्लिम समुदानयमाथि विभेद गरेको र भारतको धर्म्निरपेक्ष संविधानलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । तर प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता दलले भारतमा रहेका मुस्लिम विरुद्ध कुनै पक्षपात नगरेको दाबी गरेको छ ।

प्रधानमन्त्री मोदी सन् २००० मा गुजरातको मुख्यमन्त्री रहँदा मुस्लिम समुदायको बाहुल्य रहेका स्थानमा भएको धार्मिक दंगा नियन्त्रण गर्न नसक्दा एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।