धरान : सरकारले आज बिहान ६ बजेदेखि देशभर लक डाउन गरेको छ ।

लकडाउनको जानकारी पाएर पनि धरानबासीमा लकडाउनको प्रभाव भने देखिएको छैन । आज मंगलबार विहान सधैझै धरानका सडकहरुमा मर्निङवाक गर्नेहरुको उस्तै घुईचो देखिएको थियो ।

हिजो साझ नेपाल सरकारले देशैभर लकडाउनको घोषणा गरेको विभिन्न संचारमाध्यमहरुबाट जानकारी पाएका धरानबासीले लकडाउनको समयमा पनि सार्वजानिक स्थलमा देखिएका थिए ।

धरान १४ विजयपुरमा सधाझै मंगलबार विहान लाहुरे ट्रेनिङ सेन्टरका तालिम गर्नेहरुको समुह र दुई धारे, सडकमा निकै बाक्लो मर्निङवाक गर्नेहरुको भिड थियो । धरानको मुख्य चौक भानुचौकमा विहानै केही टेम्पो प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरानमा सर्वसाधरणले लकडाउनको समयमा के गर्न हुने के गर्न नहुने थाहा नपाएकोले यसो भएको भन्दै धरानमा धरानभरी लकडाउनमा घर बाहिर ननिस्कन भन्दै माईकिङ गर्ने भएको छ ।


इलाका प्रहरी कार्यालय धरानले धरानको हरेक टोल टोलमा पुगेर माईकिङ गर्ने र सुचनाको अटेर गरी भोली देखि सर्वसाधरण घर बाहिर निस्किएको पाईएमा प्रहरीले संक्रमक रोग ऐन २०२० को दफा २ अनुसार कार्वाही गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले कपुरीलाई बताए ।

लकडाउन घोषणा भएको अवस्थामा घर बाहिर निस्किन मिल्दैन । सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिसकेको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको हो ।

औषधोपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने’, आदेशमा भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउने पनि आदेशमा उल्लेख छ ।

आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।

लकडाउनमा के गर्न मिल्छ ?
लक डाउन भएको अवस्थामा औषधि उपचार र खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा मात्रै घरबाट बाहिर निस्किन मिल्छ ।

तर अनावश्यक काममा बाहिर निस्किएमा सरकारले कारवाही गर्न सक्छ । लकडाउनका समयमा स्वास्थ्य, सुरक्ष, खाद्यवस्तु, खानेपनी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा सुचारु हुनेछन् ।

के गर्न मिल्दैन?
लक डाउनका बेला सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्ने चेतावनी सरकारले दिइसकेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

लकडाउनका बेला सबै आन्तरिक उडानहरु बन्द हुने छन् । सरकारी कार्यलय सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिन सक्ने छन ्। औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिइने छ ।

वसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्ति गर्ने व्यवस्था मिलाउन पाउनेछन । कालाबजारी गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने भएको छ ।

कसरी हुन्छ कार्यान्वयन?
सरकारले उक्त आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ ।

त्यसका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय सरकारले लिएको छ ।

त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने अधिकार दिइएको छ । उक्त अधिकार प्रजिअहरुलाई दिइएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दिए ।

के हुन्छ सजाय ?
सरकारले जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा र्पुयाउने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सजाय हुनेछ ।

आदेशको अपहेलना गर्ने वा काममा बाधा र्पुयाउनेमाथि कारबाही हुने छ । नोभल कोरोना (कोभिड(१९) रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत उक्त आदेशसम्बन्धी जानकारी दिइएको थियो।

सरकारको आदेश उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा र्पुयाउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुनेछ ।