धरान : एक नम्बर प्रदेशका कोरोना आशंका गरिएकाहरुका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार देखि कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ ।

संघीय सरकार र प्रदेश सरकारको सहयोगमा कोरोना परीक्षणको ल्याब प्रतिष्ठानमा सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याब सहित प्रतिष्ठानको कोरोना उपचारस्थलको पनि निरीक्षण गरे ।

मुख्यमन्त्री र मन्त्री दुवैले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरे । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका विरामीहरुलाई गरिने उपचार प्रक्रियाबारे प्रतिष्ठानका कार्यवाहक उपकुलति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी गराएका थिए भने, ल्यावबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका डा.नारायण भटराईले जानकारी गराएका थिए ।

अहिलेसम्म नेपालमा कोरोनाको स्वाब परीक्षण काठमाण्डौंमा मात्र हुदै आएको थियो । यसले गर्दा बाहिरबाट परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । काठमाण्डौं बाहिर प्रदेशस्तरमा पहिलो कोरोना परीक्षण ल्याब धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा आएको हो ।
प्रतिष्ठानको हेल्प डेक्समा आज १३ जना सम्पर्कमा आए

कोरोना आशंकामा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप १३ जनाले आफ्नो स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् । यो संगै प्रतिष्ठानमा आफुलाई कोरोना आशंका गरेर प्रतिष्ठानको कोरोना हेल्प डेक्समा आउनेहरुको संख्या ९० पुगेको छ ।
प्रतिष्ठानमा अहिले सम्म ४ जना आईसोलेसन वार्डमा भर्ना भएका छन् भने ५ जनालाई धरान १३ स्थित सैनिक आवसिय विद्यालयमा रहेको क्वारेनटाईनमा रेफर गरिएको छ भने ४ जनालाई मोरङको टाँडी रेफर गरिएको छ । बाकीलाई सेल्फ होम क्वारेनटाईनमा पठाईएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।