धरान : करारमा नगर प्रहरी भर्ना गर्ने क्रममा प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदको नतिजा अन्तिम समयमा आएर धरान उपमहानगरपालिकाले स्थगित गरियो । असईको २ पद र जवानको १८ पदमा नतिजा प्रकाशन गरेको उपमहानगरपालिकाले प्रहरी निरीक्षकमा भने एक मात्र उम्मेदवार सनम राई न फेल भएको भनेको छ न उतीर्ण नै भनेको छ ।
अन्तिम समयमा आएर उनको नतिजा स्थगित गर्नुको भित्री कारण शैक्षिक योग्यता नभएको भनियो छ । तर, उपमहानगरले औपचारिकरुपमा शैक्षिक योग्यता नभएको व्यक्ति कसरी अन्तिम प्रक्रियासम्म पुग्यो भनेर स्पष्ट भने पारेको छैन । जसले गर्दा कर्मचारीको मिलेमतोमा भर्ना प्रक्रिया अघि बढाइएको थियो कि भन्ने शंका व्यप्त छ । यो बिषयको खोजी गर्दा जादा नयाँ तथ्य फेला परेको छ, त्यो हो करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धि बनाइएको कार्यविधिममा नै प्रहरी निरीक्षक पदको लागि शैक्षिक योग्यता राखिएको रहेनछ । कार्यविधिमा शैक्षिक योग्यता नराखिएपछि दरखास्त आह्वान गर्दा पनि शैक्षिक योग्यता मागिएन ।
नगर कार्यपालिकाबाट गत बैशाख १२ गते करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ स्वीकृत भएको थियो । उक्त कार्यविधिमा नगर प्रहरी निरीक्षक, सहायक नगर प्रहरी निरीक्षक र नगर प्रहरी जवान पदमा अवधि तोकेर करारमा राख्न सक्ने व्यवस्था गरेको छ । सोही कार्यविधिमा प्रहरी जवान र सहायक निरीक्षक पदको लागि शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । तर, अधिकृत प्रहरी निरीक्षक पदको लागि भने शैक्षिक योग्यता हुनुपर्ने प्रावधान राखिएको छैन । कार्यविधिमा शैक्षिक योग्यता नराखिए पछि एसएसली पनि पास नगरेका सशस्त्र प्रहरीका पुर्व सई रहेका धरान १७ का सनम राई एक्लै प्रहरी निरीक्षक पदमा भिडेका थिए । सो पदको लागि प्रहरी निरीक्षक वा नायव निरीक्षक पदमा ५ बर्ष जागिर खाएको योग्यता मात्र मागिएको थियो । आखिर किन कार्यविधिमा राखिएन शैक्षिक योग्यता ? स्रोत भन्छ,‘यो कार्यविधिमा प्रहरी निरीक्षकको योग्यता सनम राईलाई नै हेरेर बनाएको थियो, उसैलाई जागिर खुवाउने सेटिङ भएकोले नराखिएको हो । यसमा प्रशासन प्रमुखको मुख्य भुमिका छ ।’
यो कार्यविधि प्रशासन महाशाखा प्रमुखले तयार गरेका हुन् । त्यहाँ वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा प्रमुख छन् । उनले तयार गरेको कार्यविधिलाई कार्यपालिका वैठकले पारित गरेको थियो । अर्को अचम्म त के छ भने यो कार्यविधि बन्नु अघि धरानको वडा नं ६ का अध्यक्ष एवं कार्यपालिका सदस्य भुवनसिं बस्नेतको अध्यक्षतामा गठित विधायन समितिले स्थायी नगर प्रहरी सम्बन्धी नियमावली तयार गरेको थियो । उक्त नियमावलीमा प्रहरी निरीक्षक पदको लागि स्नातक तह उतीर्ण भएको शैक्षिक योग्यता अनिवार्य हुनपर्ने व्यवस्था गरिएको थियो । नेपाल प्रहरीमा पनि प्रहरी निरीक्षकमा सिधै जागिर खान स्नातक तह आवश्यक पर्छ । तर, त्यो नियमावली कार्यपालिकाबाट पारित हुन सकेन । ‘हामीले बनाएको नियमावलीमा शैक्षिक योग्यता राखेका थियौं,’विधायन समिति संयोजक बस्नेतले भने ।
सरकारले स्थायी कर्मचारी नियुक्ती गर्न रोक लगाएपछि स्थायी नगर प्रहरी नियुक्तीको यो नियमावली दराजमा थन्कियो । तर, उपमहानगरपालिकाले करारमा अस्थायी नगर प्रहरी प्रक्रिया शुरु गर्यो । यसको लागि कार्यविधि बनाउने जिम्मा पाएका प्रशासन प्रमुखले विधायन समितिले बनाएको नियमावलीलाई वेवास्ता गर्दै शैक्षिक योग्यता नचाहिने प्रावधान बनाए । त्यही कार्यविधि अनुसार नगर प्रहरी निरीक्षक भर्ना प्रक्रिया अघि बढ्यो । तर, अन्तिममा कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले शैक्षिक योग्यताको कागजात नभएको थाह पाएपछि नतिजा स्थगन गरेकी थिइन् । शुरुमा उपमहानगरपालिकाले प्रशासनिक प्रक्रियामा कमजोरी भएको दाबी गरेपछि मिडियामा सार्वजनिक भएपछि नतिजा स्थगन गर्नुको कारण शैक्षिक योग्यता नै भएको भन्दै उनले कार्यविधिलाई सच्चाउने पनि धारणा व्यक्त गरिन् । ‘कार्यविधिमा शैक्षिक योग्यता नराखिनु त्रुटी हो, त्यसलाई हामी सच्याउछौं,’उनले भनिन् ।
कसरी खुल्यो पोल ?
प्रहरी निरीक्षक पदमा २ जनाको आवेदन परेको थियो । एक जना सशस्त्र प्रहरीका पुर्वसई सनम राई थिए भने अर्का नेपाली सेनाका पुर्वसुवेदार निरकुमार श्रेष्ठले पनि आवेदन दिएका थिए । सुवेदार श्रेष्ठले शैक्षिक योग्यता आइए उर्तीर्ण गरेको त्रिविविको प्रमाणपत्रहरु पनि पेश गरेका थिए भने सेनामा रहदा लिएको विभिन्न तालिमहरुको प्रमाणपत्रहरु पनि पेश गरेका थिए । अर्का, उम्मेदवार राईले भने आवेदन फारम भर्दा १० कक्षा पास भनेर लेखेका थिए ।
कार्यविधि र सुचनामा माग गरिएवोजिम सुवेदार श्रेष्ठको अनुभव योग्यता नपुगेको भन्दै उनलाई अयोग्य घोषित गरेर उनले फारम भर्दा लागेको रकम फिर्ता गरिएको थियो । श्रेष्ठ शुरुमै पाखा लागेपछि प्रहरी निरीक्षक पदमा एक्ला उम्मेदवार सनम राई थिए । तर, उनी आफैले भरेको फारमले अन्तिम समयमा फस्न पुगे । उनले फारम भर्दा १० कक्षा पास भनेपनि उक्त शैक्षिक योग्यता पेश गर्न सकेनन् । ‘कार्यविधिमा त शैक्षिक योग्यता थिएन, र सुचना निकाल्दा पनि मागिएन । तर, उनले फारम भर्दा १० कक्षा पास भनेर लेखेकै प्रमाण नपुगेपछि मात्र शैक्षिक योग्यताको प्रश्न उठ्यो,’स्रोत भन्छ,‘पास गर्दा पनि समस्या हुने भयो, नगर्दा पनि समस्या नै भयो ।’

तस्बिर क्याप्सन : नगर प्रहरी निरीक्षक पदको लागी सनम राईले भरेको फारम

1 94

नगर प्रहरी निरीक्षक पदको लागी निरकुमार श्रेष्ठले भरेको फारम

2 4


निरकुमार श्रेष्ठलाई योग्यता पुरा नभएको भनि नरपालिकाले दिएको पत्र

3 1