धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक कारोबार नभएको व्यक्तिको नाममा चेक काटिएको विवाद चर्किदै गएको छ । रजिष्ट्रार तुलबहादुर श्रेष्ठले आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै उपकुलपति डा.राजुकमार रौनियारले रजिष्ट्रारलाई प्रत्यायोजन गरेको आर्थिक अधिकार फिर्ता लिएका छन् । स्रोतका अनुसार उपकुलपति रौनियारले बुधबार रजिष्ट्रारलाइ पत्र पठाउदै प्रत्यायोजन गरेको अधिकार संशोधन भएको जानकारी दिएका छन् । त्यसमा रजिष्ट्रारलाई ५ लाखसम्मको रकम भुक्तानी गर्ने वा चेकमा सही गर्ने अधिकार समावेश गरिएको छैन । प्रतिष्ठानमा रजिष्टारलाई ५ लाखसम्म भुक्तानी दिदा उपकुलपतिबाट स्वीकृति लिनु नपर्ने गरी आर्थिक अधिकार प्रत्यायोजन गरिएको थियो । ‘चेकमार्फत ५ लाख ५० हजार भुक्तानी दिएको र भुक्तानी पनि किन गरेको भन्ने केही विवरण दिन नसकेपछि रजिष्ट्रारलाई प्रत्योजित अधिकार उपकुलपतिले फिर्ता लिएको हो,’स्रोतले भन्यो ।
गत बैशाख २३ गते एनआइसि एसियामा भएको प्रतिष्ठानको खाताबाट पर्वतका जीवन पौडेलको नाममा ५ लाख ५० हजार भक्तानी भएको खुलेपछि उक्त चेकमा हस्ताक्षर गरेका रजिष्टार श्रेष्ठ र आर्थिक महाशाखा प्रमुख रुपा सिंघाञ्ची अग्रवाल आर्थिक विवादमा फसेका थिए । त्यसबारेमा उपकुलपति रौनियारले श्रेष्ठलाई स्पष्टीकरण सोधका थिए भने रजिष्ट्रार श्रेष्ठले आफु मातहतकी सिंघाञ्चीलाई स्पष्टीकरण लिएका थिए । यो घटना सार्वजनिक भएपछि रजिष्ट्रार श्रेष्ठ र उपकुलति रौनियारबीच थप तिक्तता र दुरी बढेको थियो ।  मोरंगको इन्द्रपुरस्थित बैंकको शाखा कार्यालयबाट साटिएको उक्त चेकमा रजिष्ट्रार श्रेष्ठ र आर्थिक महाशाखा प्रमुख रुपा सिन्घाञ्ची अग्रवालको हस्ताक्षर छ । यद्यी, चेकमा भएको हस्ताक्षर दुवैले आफ्नो नभएको दाबी गर्दै आएका छन् । प्रतिष्ठानसँग पौडेलको नाममा किन चेक बन्यो र भुक्तानी भयो भन्ने कुनै रेडर्क पनि छैन ।


1img 2img