काठमाडौँ :  यतिबेला देशको अवस्था देख्दा हाँसो उठ्ने र मनन गर्दा गम्भीर बनाउने छ । अझ शैक्षिक प्रणाली त कहाली लाग्दो छ । नीजि र सरकारी/सामुदायिक स्कुलबीच खाडल बढ्दो छ । निम्नमध्यम वर्गले निजी स्कुलमा सन्तान पढाउन आर्थिक रूपले नसक्ने, सरकारीमा नाममात्रको पढाइ हुने । यी समस्याबाट अहिलेको पुस्ता प्राय: भुक्तभोगी छ । यसपालि ‘छक्का पञ्जा’ समूहले यस्तै शैक्षिक दूरावस्थालाई समाएर फिल्म पस्कने जमर्को गरेको छ । यसअघिका दुई संस्करणमा ‘जंक कमेडी’ पस्के पनि ‘छक्का पञ्जा ३’ यही कन्टेन्टले केही ‘हाइजेनिक’ बनाउन खोजेको देखिन्छ । ठट्यौली शैली र जबरजस्तीको हास्यरसको सिलसिलालाई घटाएर ‘छक्का पञ्जा ३’ ले विषयमा छिर्ने आँट देखाएको छ ।


देशमै छँदाखाँदाको समाचार वाचिकाको जागिरलाई लत्याएर अष्ट्रेलिया जाने तयारीमा कागजात बनाउन एक महिने समय लिएर गाउँ छिरेकी छे, युके उर्फ उजेली कुमारी (दीपिका) । उनकै बुबा (शिवहरि) गाउँको सरकारी स्कुलको हेडमास्टर त छन् तर स्कुल उनको वशमा छैन । स्थानीय नेताहरू काजी (नीर) र वाङदेल (शिशिर) को राजनीतिक खिचातानीमा स्कुल कोपभाजनमा परेको छ । गणित शिक्षक (बुद्धि) कक्षामा भन्दा तासको खालमा सिक्वेन्सको हिसाब गर्न व्यस्त छ । नेपाली शिक्षक स्कुल पढाउने समयमा जग्गा दलाली गर्नमा व्यस्त छन् । पाले (केदार) स्कुलको घण्टी बजाउन छाडेर आफ्नै सहनाई बजाउन कुदिरहन्छ । कोहीको उपचारको बहाना र कोही भ्रातृ संगठनको तुजुक देखाएर स्कुलमा पढाइ कम जागिर ज्यादा खाइरहेका छन् । उजेलीका लागि यी सबै क्षम्य हुँदैन । आफ्नो बाबुको झुकेको शिरलाई उचो बनाउने अभिप्रायले खानीडाँडा माविको शैक्षिक अवस्था सुधार्न लागिपर्छे । काजी र वाङदेलको रस्साकस्सीमा उजेली थ्रेट बनेर निस्कन्छे ।

 

काजी आफ्नो राजनीति जोगाउन आमासँग बस्दै आएको राजा (दीपक) लाई बोलाउँछ । बाङदेल समूहको जयनन्दलाई हात लिन मित लगाउँछ, उजेलीलाई बुहारी बनाउँछ । जे कुराले समाधान होला ठानिएको हुन्छ, आखिर तिनैले काजीलाई समस्यामा गाँज्दै लग्छन् । मुलत: फिल्म यसै खिचातानीमा केन्द्रित छ । पटकथामा यसपटक लेखक दीपकराज गिरीले सन्तुलन राख्न खोजेका छन् । कमेडीमा भन्दा विषयमा केन्द्रित हुने प्रयास गरेको देखिन्छ । कथा नै बोकेर हिँडेका मुख्य चरित्रलाई जबरजस्ती कमेडीको आहालमा डुबाउने हर्कत गरिएको छैन । त्यसो त फिल्ममा हास्यरस भरपूर छ । यसको जिम्मा सहायक चरित्रलाई दिइएको छ तर सन्तुलित रूपमा । ‘छक्का पञ्जा ३’ पनि हेर्दा हाँसो उठ्ने र मनन गर्दा गम्भीर बनाउने बाटो उन्मुख देखिन्छ ।

 

शैक्षिक विसंगतिको छेउछाउ पुग्ने असल प्रयास गरे पनि शैक्षिक मुद्दालाई मिहिन केलाउन भने सकेको छैन । शिक्षा क्षेत्र बिग्रनुमा दलीय राजनीति र व्यवस्थापनलाई दोष दिइए पनि त्यसभित्रका पात्रको स्वार्थ परिपक्व रूपमा आउन सकेको छैन । मन्त्रीले ‘राजनीति गर्ने हो भने स्कुल हातमा लिनु’ भनेको कुरामा नै फिल्मको पूरै लफडा स्कुल हात पार्नमा केन्द्रित देखिएको छ । यसअघि महिला पात्रलाई कमजोर बनाएको आरोप खेपेकी निर्देशक दीपाश्री निरौलाले यसपटक उजेलीको भूमिकामार्फत् दीपिकालाई बलियो रूपमा पस्केकी छन् । ‘बिग्रेको सिस्टमलाई ठीक पार्नु छ भने सिस्टमभित्रै छिर्नुपर्छ’ भन्ने मान्यतामा उजेली आफ्नो अवरोध ठानिएको काजीकै बुहारी बन्न पुगेकी हुन्छे । उनको चरित्रले फिल्ममा हास्यकलाकारलाई हाबी हुन दिएको छैन । निर्देशकले कलाकारलाई चरित्रमा बाँध्न धेरै हदसम्म सफल भएकी छन् । प्राविधिक पक्षमा फिल्म बलियो लाग्छ । फिल्ममा गीतलाई खासै अर्थपरक बनाउन सकिएको छैन । विषय केन्द्रित फिल्ममा गीत/संगीतको हुन सक्ने अहम भूमिकालाई नजरअन्दाज गरिएको छ । नेपाली फिल्ममा दर्शक खडेरी लागिरहेका बेला दीपक–दीपाको समूहले ‘छक्का पञ्जा’ देखि खोलो बगाइदिए । मास अपिलिङ फिल्म बनाए पनि समीक्षात्मक हिसाबले आलोचना खेपिरहँदा ‘छक्का पञ्जा ३’ ले त्यसलाई चिर्ने गतिलो प्रयास गरेको छ । फगत हँसाउने शैलीलाई परिमार्जन गर्दै परिस्थितिजन्य हाँसो उत्पन्न गराई खुराक बेच्न खोजिएको छ । दर्शकका लागि मात्रै फिल्म बनाइरहेको टिमले देशकै लागि फिल्म बनाउने जमर्को गर्नु प्रशंसाको भागीदार भने हो ।

छक्का पञ्जा ३
निर्देशक : दीपाश्री निरौला
कलाकार : दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, विल्सनविक्रम राई, जयनन्द लामा, शिशिर बाङदेल, नीर शाह, किरण केसी, लक्ष्मी गिरी र अनुराग कुँवर

साभार : kantipurdaily.com बाट