धरान: दोस्रो याकथुङ सिने अवार्ड इन्टरनेशनलका लागि लिम्बू भाषा संस्कृतिमा बनेका १५ चलचित्र मनोनयनको सूचिमा परेका छन् ।
याकथुङ चलचित्रकर्मी सङ्घले दोस्रो पटक माघ २४ गते याकथुङ सिने अवार्ड समारोह आयोजना गर्न लागेको जानकारी दिन आज सोमवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
सङ्घका अध्यक्ष नवीन मेन्याङबोका अनुसार मनोनयनमा सूचिकृत चलचित्र ९ वटा छन् । २ लघु चलचित्र, ३ याकथुङ गीत तथा म्युजिक भिडियो र याक्थुम पालम म्युजिक भिडियो समेत १५ वटा छन् । उनले भने " सङ्घले माघ २४ गते शनिवार नेपालका प्रतिष्ठित कलाकारहरूको उपस्थितिमा अवार्ड कार्यक्रम गर्ने निश्चित भएको छ ।"
अध्यक्ष मेन्याङवोले पहिलो सिने अवार्डमा याकथुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई मात्र समावेश गरेता पनि दोस्रो याक्थुम सिने अवार्डमा यस पटक लिम्बु पालम र म्युजिक भिडियोहरू पनि समावेश गरिएको बताए ।
लिम्बू भाषा संस्कृतिमा बनेको चलचित्र, पालम म्युजिक भिडिओलाई नेपालमा दोस्रो पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।
अवार्डका लागि मनोनयन सूचिमा परेका फिचर फिल्महरू कथामा,मिम्जिफुङ (मिम्जिफुङ)सेमिफुङ (सेमिफुङ),नुमा हाङ्मा,लाम्डेडमा,भिमलेन फुङ,नाम ओती,रित,थिम रहेका छन् ।
लघु चलचित्रमा तडसिंग,आडगा,याकथुङ गीत सङ्गीत भिडियो अन्तर्गत सिराप धाम ,मुयेदसा एरमा,मिम्बी ई रहेका छन् । याकथुङ पालम म्युजिक भिडियो अन्तर्गत ताप्लेजुङे थाडवेन्हा,एनिया बारो,मुकुम्फुङ,ताम्बुदचा,तेरआ वेले,सेम्मुई ता जेड,आन्चेनवा मिमजिड,बरुम्हाङ,मामजाबुङ्गे तेरेवेन,फुड सरी सदसाङ,फाक्टाकलुङ,मुकुम्लुङ,खाम्बेक फुङ,मिम्बजिरेड सेफाङ प्रतिस्पर्धामा अवार्डको प्रतिस्पर्धामा छन् ।
चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने बताइएको छ।
लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।
अध्यक्ष मेन्याङबोले अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताए । आयोजकले निर्धारण गरेको नीति नियम बमोजिम अवार्ड प्रदान हुने उनले स्पष्ट गरे का छन् ।
फिचर फिल्मको हकमा चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको हुनुपर्नेछ । फिचर फिल्म वा लघु चलचित्र याकथुङ लिम्बू सांस्कृतिक अथवा मातृभाषामा चलचित्रलाई मात्र अवार्डमा समावेश गरिएको अवार्ड वितरणमा निर्णायक मण्डलले गरेको निर्णय अन्तिम हुने अध्यक्ष मेन्याङवोले बताए ।
उनले भने ‘याकथुङ चलचित्रको प्रचार प्रसार, बजारीकरण र चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ यसबाट याकथुङ कला, संस्कृतिको संवर्धन, प्रवर्द्धन र स्थानीय क्षेत्रहरूको पर्यटन विकास गर्ने विश्वास गरिएको छ । समारोहमा नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागी हुने उनले बताए ।
नेपालका याकथुङ चलचित्रकर्मीहरू बिच एक आपसमा याकथुङ चलचित्र र नेपाली चलचित्रको सञ्जाल बनाउँदै याकथुङ चलचित्रकर्मीहरूले निर्माण गरेको याकथुङ र नेपाली चलचित्रहरूको स्तर उन्नतिको प्रयास सङ्घले गरिरहेको बताइएको छ ।
अवार्ड मार्फत याकथुङ चलचित्रको प्रचार–प्रसार, बजारीकरण र चलचित्रकर्मीहरूलाई सम्मान, प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्य राखिएको मेन्याङ्बोले बताए ।