धरान: दक्षिण एसियाकै नमुना मेडिकल कलेज मानिने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत सेप्टेम्बर २ देखि नै एमडि/एमएसको पढाई शुरु भइसक्नु पर्ने थियो । तर, अक्टोबर अन्तिम साता भइसक्दा पनि पढाई शुरु भएको छैन ।
एमडि/एमएसको शैक्षिक कार्यक्रम २०१८ को प्रोस्पेक्टस अनुसार अन्र्तराष्ट्रिय कोटाको दोस्रो प्रवेश परीक्षा पश्चात काउन्सिलिङमा एक जना भारतीय विद्यार्थी ढिलो आएर सहभागी हुन नपाउदा प्रतिष्ठानको शैक्षिक क्यालेण्डर नै अन्यौलग्रस्त हुन पुगेको हो । गएको ६ अगष्टमा आयोजना भएको काउन्सिलिङमा भारतीय विद्यार्थी प्रशान्त कुमार ढिलो गरी पुगेका थिए । उनी प्रतिष्ठान पुग्दा काउन्सिलिङ सकिसकेको थियो । यद्यपी उनले तत्कालै प्रवेश परीक्षा समितिका पदाधिकारीहरुलाई भेटेर आग्रह गरेपनि कसैले उनलाई काउन्सिलिङ गर्न मानेनन् । लिखित निवेदन दिदा पनि उनको माग सुनुवाई नभएपछि उनी कानुनी उपचारमा गएका थिए ।
उच्च अदालत विराटनगरमा उनले दिएको रिट निवेदनको सुनवाईमा अदालतबाट भर्ना प्रक्रिया रोक्न भदौमा स्टे अर्डर जारी भएको थियो । जसले गर्दा समग्रमा प्रतिष्ठानको एमडि÷एमएस कार्यक्रम २०१८ नै अवरुद्ध भएको छ । ‘अदालतबाट स्टे अर्डर आयो, त्यसैले हामीले केही पनि गर्न सक्दैनौं,’प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले भने,‘अदालतबाट अर्को फैसला कुर्नुको विकल्प छैन ।’ यो मुद्दाको अर्को सुनुवाई कार्तिक १२ गते सोमबार छ ।
अदालतको आदेशले धेरै समस्या भएको प्रवेश परीक्षा समितिका संयोजक एवं रेक्टर डा. गुरु खनाल बताउँछन् । मुद्दाको फैसला छिटो नभए विद्यार्थीहरुकै भविष्य अन्यौलमा पर्ने उनले बताए । यो मुद्दाकै कारण खाली सिट रहेको अन्र्तराष्ट्रियतर्फको १६ वटा सिट नेपाली विद्यार्थीहरुको लागि परिवर्तन गरेर तेस्रो काउन्सिलिङ गर्न बाँकी नै छ । धेरै विद्यार्थीहरु बाँकी रहेको सिटको प्रतिक्षामा छन् भने पढाई नै शुरु नहुदा पछि विद्यार्थीहरुलाई धेरै समस्या हुने रेक्टर खनाल बताउँछन् । ‘विद्यार्थीहरुको समय त्यसै बितिरहेको छ, अर्को बर्ष नयाँ विद्यार्थीहरु भर्ना गर्दा अहिलेकै पढीरहेका हुन्छन्,’उनले भने,‘हाम्रो क्यालेण्डर नै बिग्रिसक्यो ।’





































































