धरान: जिल्लास्तरीय प्रावि तहको १५ औं ललित अम्बर डिपो कप २०७५ तथा दिलकुमार प्लेट च्याम्पियनसीप यही मंसिर १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

आयोजक डिपो उच्चमाविले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १६ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । डिपोकय प्राचार्य राजकुमार राईकय अनुसार १५ औं सँस्करणमा आयोजकसहित कुल १६ वटा विद्यालयहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा पहिलो चरणका खेलमा पराजित भएका स्कुलहरुले पुनः प्लेट च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् । ‘साना बच्चाहरु सहभागी हुने प्रतियोगिता भएकोले पहिलो खेलमा नै हारेर फर्कनु पर्दा निराश हुन्छन्, त्यसैले पराजित टिमहरुले फेरी प्लेट च्याम्पियनसिपमा खेल्ने मौका पाउदा उत्साह मिल्छ,’प्राचार्य राईले भने ।

प्रतियोगिता साना उमेरका विद्यार्थीहरुको खेल प्रतिभा प्रष्टफुटन हुन सकोस् भन्ने उद्देश्यले आयोजना गरिएको डिपो स्कुलको भनाई छ । प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् भने उचाई ४ फुट १० इञ्च र १२ बर्ष मुनिकाले मात्र सहभागी हुन पाउने प्रतियोगिता संयोजक एवं सञ्चालक समिति सदस्य भीमराज लिम्बुले बताए । आयोजकका अनुसार च्याम्पियन स्कुलले नगद १० हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ । तेस्रो हुने स्कुलले नगद ३ हजार, शिल्ड र प्रमाणपत्र पाउनेछ ।

IMG_7116 copy

यस्तै, प्लेट च्याम्पियनतर्फ विजेताले नगद ३ हजार, रनिङ शिल्ड र प्रमाण पत्र हात पार्नेछ भने प्लेट रनरअप स्कुलले नगद २ हजार र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता सञ्चालनको लागि अनुमानित ३ लाख ७२ हजार १ सय ९४ रुपैया खर्च हुने आयोजकले जनाएको छ । गत बर्ष नेपाल पुलिस स्कुल च्याम्पियन भएको थियो भने आइडियल स्कुल उपविजेता र आयोजक डिपो तेस्रो भएको थियो । प्लेटतर्फ होलिल्याण्ड इन्टरनेशनल स्कुल विजेता भएको थियो भने सेक्रेट हार्ट इटहरी उपविजेता भएको थियो ।
........

डिपो कपको नयाँ लोगो

डिपो कप १५ औं सँस्करणमा आइपुग्दा नयाँ लोगो सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्राचार्य, प्रतियोगिताका संयोजक, खेल शिक्षकहरुले संयुक्तरुपमा लोगो सार्वजनिक गरेका थिए ।
प्राचार्य राईकय अनुसार विद्यालयकै विद्यार्थीहरुबीच प्रतिस्पर्धा आयोजना गरेर उत्कृष्ट लोगो छनौट गरिएको हो । उक्त लोगो कक्षा १० का विद्यार्थी समय महतेले तयार गरेका हुन् । उनलाई प्रतियोगिताको समापनमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

IMG_7118 copy