वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई संयुक्त राज्य अमेरिकाले हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न आग्रह गरेको छ ।
साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वासिङ्टनसँग सहकार्य गर्दै आएका यूरोपेली तथा एसियाली मुलुकहरूलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवेईद्वारा प्रबाह गरिने सेवा तथा उक्त कम्पनीद्वारा निर्मित सामग्रीलाई प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रीट जोर्नलमा शुक्रबार उल्लेख गरिएको छ ।
हुवेईका सामान बढी प्रयोग हुने जर्मनी, इटाली र जापानजस्ता अमेरिका निकट मानिने राष्ट्रहरूका खासगरी सरकारी अधिकारीहरूलाई लक्षित गरी अभियान चलाइएको उक्त पत्रिकामा उल्लेख छ ।
अमेरिकाले चिनियाँ कम्पनीमा निर्मित सामान प्रयोग नगर्ने मुलुकलाई उनीहरूको दूरसञ्चार विकासका लागि थप आर्थिक सहयोग गर्ने पनि पत्रिकामा उल्लेख गरिएको छ ।
विश्वको सबैभन्दा धेरै दूरसञ्चारका सामग्री उत्पादन गर्ने तथा सेवा प्रदानगर्ने मध्ये एक हुवेईमाथि अमेरिका तथा अष्ट्रेलियाजस्ता केही मुलुकमा उक्त कम्पनीको बेइजिङसँगको निकट सम्बन्धका कारण सुक्ष्म अनुसन्धान पनि भइरहेको बताउने गरिएको छ ।
चिनियाँ गुप्तचर निकायसँग हुवेइको आवद्धता रहेको दावी गर्दै अमेरिकाले सुरक्षा खतराबारे आफुमाथि लगाएको आरोपको हुवेईले खण्डन गरेको छ ।
" घटना र विचारबाट साभार गरिएको "


































































