धरान: सहकर्मी तथा आफ्नै विद्यार्थीको प्रमुख भुमिका रहेको चलचित्र समय शुक्रबार धरान ९ स्थित विष्णु मेमोरियल हाई स्कुलका शिक्षक, शिक्षिक एवं विद्यार्थीहरुले हेरेका छन् ।

स्कुलको आफ्नै हलमा चलचित्र समयको प्रर्दशन गरिएको थियो । शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुले निक्कै रुचि एवं उत्साहित भएर उक्त चलचित्र हेरेका थिए । शिक्षा र समयको महत्वको बिषयमा बनेको चलचित्र हेरिसकेका विद्यार्थीहरुले फिल्मप्रति सकरात्मक प्रतिक्रिया जनाए भने विद्यार्थीहरुको प्रतिक्रिया सुनेर फिल्म युनिट पनि उत्साहित बनेको छ । फिल्मका मुख्य अभिनय रहेका कलाकार १४ बर्षीय शैव श्रेष्ठ सोही विद्यालयमा कक्षा ९ मा अअध्ययनरत छन् । चलचित्र हेरिसकेपछि कक्षा १२ की विद्यार्थी कमला कटवालले प्रेरणादायी फिल्म भन्दै प्रसंसा गरिन् । उनले भनिन्,‘समयलाई बुझ्नुपर्छ, पढ्नुपर्ने समयमा पनि पढ्नुपर्छ भन्ने प्रेरणादायी शिक्षा दिने फिल्म रहेछ ।’ अर्की विद्यार्थी आशा दाहालले पनि अभिभावकहरुले पनि आफ्नो छोराछोरी स्कुलमा कसरी पढ्दैछ, सही बाटोमा हिडिरहेको छ कि छैन भनेर ध्यान दिनुपर्ने बताइन् । ‘स्कुल पठाएर मात्र हुदैन, छोराछोरी कसरी पढ्दैछन् भनेर पनि ख्याल गर्नुपर्छ, समय दिनुपर्छ भन्ने सन्देश राम्रो लाग्यो,’दाहालले भनिन् । विद्यालयको हलमा आयोजित शोमा कक्षा ६ देखि कक्षा १०, १२ सम्मका विद्यार्थीहरुले फिलम हेरेका थिए ।

विद्यार्थीहरुले रुचिपुर्व फिल्म हेरेकोमा ज्यादै खुशी लागेको कलाकार एवं कार्यकारी निर्माता विशाल श्रेष्ठले बताए । ‘विद्यार्थी जीवन, शिक्षासँग सम्बन्धित चलचित्र हो, त्यसैले विद्यार्थीहरुलाई देखाउनुपर्छ भन्ने पनि लाग्यो,’उनले भने,‘शिक्षा र समयको महत्व किन बुझ्नुपर्छ, कसरी बुझ्नुपर्छ भन्ने सन्देश भएकोले उनीहरुले पनि ज्यादै उत्साही भएर फिल्म हेरे ।’ क्रितान्सु फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्म चर्चित निर्देशक सुरेन्द्र शाहले निर्देशन गरेका हुन् । यो फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो फिल्म २३ गते धरानस्थित गोर्खा डिपोर्टमेन्टको फिल्महलमा बिशेष प्रर्दशनी हुदैछ भने मंसिर २४ गते धरानकै युरेका उच्चमाविमा पनि विद्यार्थीहरुलाई लक्षित गरेर चलचित्र प्रर्दशनी हुनेछ । चलचित्रमा शैव श्रेष्ठ, मानिका दाहाल, सुरेन्द्र शाह, विशाल श्रेष्ठलगायतको मुख्य भुमिका रहेको छ