एजेन्सी : विद्रोहीहरूको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाई आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लंघन गर्दै भिडन्त भएको सरकारपक्षीय स्रोत र स्थानीय बासिन्दाले आइतबार बताएका छन् ।

शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सातजना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि सरकारपक्षीय स्रोतले जनाएको छ ।

घटनास्थल होडेइडादेखि २० किलोमिटर टाढा पर्दछ । स्थानीय बासिन्दाले टेलिफोनमा दिएको जानकारीअनुसार गोली हानाहानको आवाज रातभरि सुनिएको थियो । उनीहरूले आइतबार बिहान पाँच बजेसम्म भिडन्त भएको पनि जानकारी दिएका छन् ।

राष्ट्रसंघको पहलमा यमनको सरकारी पक्ष र विद्रोही पक्षबीच शान्तिवार्ता गराउने गरी केही समयअघि भएको युद्धविराम अहिले कार्यान्वयन रहेको छ ।