ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सहकारीको ७५ लाख हिनामिना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको हरीनगर गाउँपालिका–६ स्थित अटुट कृषि सहकारी संस्थाको करीव ७५ लाख रुपैँया हिनामिना भएको छ । हिनामिनामा पदाधिकारीकै संलग्नता रहेको तथ्य खुलेको छ । हिनामिना भएको कुरा बाहिरिएसंगै एक–अर्काबीच मुद्दा हालाहालको स्थिति सिर्जना भएको छ । संस्थाका अध्यक्ष लुकमान अन्सारी र उपाध्यक्ष अफरोज आलमसहितले लाखौँ रुपैयाँ हिनामिना गरेको अर्को पक्षको आरोप छ । रकम हिनामिानामा लुकमान र अफरोज नै संलग्न रहेको कर्मचारीका आफन्त बताउँछन् । हिनामिनामा उनीहरु तानिने भएपछि संस्थाका कम्प्युटर अपरेटर समिममाथि हिनामिनाको आरोप लगाएर पक्राईएको छ ।

उद्घोष  : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “२४ लाखसहित भारतीय पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङ प्रहरीले दुई जना हुण्डी कारोबारीलाई प्रक्राउ गरेको छ । हुण्डी कारोबारका लागी भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेको हो । आइतबार भारतबाट आउदैँ गरेको बीआर ३८ एच ६१४२ नम्बरको कारको डिक्कीभित्र लुकाएर ल्याउदैँ गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फरविसगञ्ज ९ का २८ वर्षीय सनोजकुमार शाह र फारबीषगञ्ज २६ की ५० वर्षीय सुसीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “गिटी कुटेरै जिविका चल्छ वृद्ध दम्पतीको” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उमेरले छोराछाको कमाई खाएर आनन्दका साथ विश्राम लिने समय भएपनि जीतबहादु राई र उनकी श्रीमती जसकुमारी राईलाई भने विहान बेलुका छाक टार्नै धौधौ हुन्छ । दिनभर मेहनत नगरी छाक टार्न गाह्रो भएपछि यी दुई ५९ वर्षीय दम्पतीलाई जीवन जीउन गाह्रो भएको छ । छिमेकी जिल्ला खोटाङको रुपाकोट मझुवागडी गाउँपालिका वडा नं. ३, दिक्तेल लामाखुका जीतबहादुर र उनी श्रीमती ढल्कदोँ उमेरमा पनि आफनो हात खियाएर विहान बेलुकीको छाक टार्न ज्याला मजदुरी गर्छन ।

मर्निङ टाईम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “कुटने शिक्षकले उपचार गरिदिने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ईटहरी २०, तरहरास्थित जनसहयोग माध्यमिक विद्यालयमा विद्यार्थी कुटेको घटना गुपचुपमै मिलाएको खबर सार्वजनिक भएपछि अन्ततः कुट्ने शिक्षक शिव राईले पीडीत सञ्जय तामाङको उपचारमा कुनै कमी आउन नदिनका लागी सबै खर्च बेहार्ने भएका छन् ।