धरान:धरानको खेल प्रेमीहरुमाझ चर्चित रहेको अन्तर वडा स्तरीय रेडबुल गोधुली फुटबल कप को १९ औं सँस्करण यही शुक्रबारदेखि शुरु हुदैछ ।

धरान–१७ स्थित गोधुली क्लवले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही शुक्रबार(पुष २०)देखि माघ ५ गतेसम्म धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने जानकारी दिएको हो । प्रतियोगितामा जिल्ला फुटबल संघ, धरान फुटबल क्लव र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितामा धरानका वडा नं. २ र ७ बाहेक अन्य सबै १८ वटा वडाहरु सहभागी हुने क्लवका उापाध्यक्ष सतिश केसीले जानकारी दए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको खेलको टाइसिट पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेल वडा नं. १४ र ५ बीच हुने भएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्याक्तिगत पुरस्कारतर्फ बेष्ट प्लेयरलाई नगद १० हजार, हाईस्कोररलाई नगद ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरि, राईजिङ प्लेयर, बेष्ट डिफेन्डर, म्यानअफ दि म्याच, गोलकिप्पर र बेष्ट कोचले नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । गोधुली कप २०५० सालदेखि शुरु भएको थियो । बीचमा केही बर्ष स्थगित भएको प्रतियोगिताले पछिल्लो समय निरन्तरता पाइरहेको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गराउँदै आएको क्लवका अध्यक्ष देशबहादुर राईले बताए । ‘अहिले हामीले नयाँ प्रतिभाशाली खेलाडीहरुलाई अवसर प्रदान गर्नको लागि प्रतियोगिता गराउँदै आएका छौं, अब हामी फुटबल खेललाई व्यावसायिक बनाउँछौं,’क्लवका अध्यक्ष राईले भने ।

रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितामा उदय सामुदायिक वन र टुबोर्ग वियर सहप्रयोजक रहेको छ भने धरान १७, समाज हङकङ सहयोगी संस्थाकोरुपमा रहेको छ । प्रतियोगितामा कुल ९ लाख ५ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि धरान उपमहानगरअन्र्तगत नगर खेलकुद विकास समितिले २ लाख ५० हजार रुपैया विनियोजना गरेको आयोजक क्लबले जानकारी दिएको छ । बाँकी खर्च प्रायोजक, सहप्रायोजक र देश,विदेशमा रहका सहयोगी संस्था, व्यक्तिहरुबाट नै सहयोग जुटाउने पनि क्लबले जनाएको छ ।